जेन-जी आन्दोलनमा लुटिएका ५४ राउन्ड गोलीसहित दुई जना पक्राउ

लागुपदार्थ ब्युरो इकाइ काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक कोठाबाट बुधबार गोली बरामद गरेको हो ।

कार्तिक २६, २०८२

पर्वत पोर्तेल

Two arrested with 54 rounds of ammunition looted during Gen-G protests

विराटनगर — जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका बन्दुकका गोलीसहित दुई जना पक्राउ परेका छन् ।

लागुपदार्थ ब्युरो इकाइ काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक कोठाबाट बुधबार गोली बरामद गरेको हो ।

प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ रामचोकमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको कोठाबाट एसएलआरका ३८ राउन्ड र इन्सास राइफलका १६ राउन्ड गोली बरामद गरिएको छ ।

त्यसैगरी कोठाबाट काँसको थाल, करुवा, पित्तलको गिलास १/१ थान र प्रहरीको बुट एकजोरसमेत फेला परेको प्रहरीले जनाएको छ । सामान लुटपाटमा संलग्न आरोपमा झापाको बिर्तामोड–२ का २२ वर्षीय विकास टुडुलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हातहतियार लुटिएको थियो । पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully