कोशी प्रदेश सभा सचिवालय कटहरीमा सर्‍यो

भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रदेश सभाको स्थायी भवनमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण बैठक हलदेखि सचिवालय कार्यालयसम्म पूर्ण रूपमा ध्वस्त भएका थिए ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Koshi Provincial Assembly Secretariat moved to Katahari

विराटनगर — भदौ २४ को प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटबाट ध्वस्त बनेको कोशी प्रदेश सभा भवन प्रयोग गर्न मिल्ने नभएपछि अब प्रदेश सभा र सचिवालय दुवै कटहरी गाउँपालिकाको कृषि बजार भवनमा बुधबार सरेको छ । यहाँ प्रदेश सभाको बैठक र सचिवालय दुवै सञ्चालन गरिनेछ ।

पहिले वैकल्पिक बैठक स्थलका रूपमा विराटनगरको वीरेन्द्र सभागृहलाई प्रयोग गर्ने तयारी भए पनि अवलोकनपछि त्यो स्थान प्रयोगका लागि योग्य ठहर नहुने देखिएपछि बैठक र सचिवालय दुवै कटहरीस्थित कृषि भवन परिसरमा सार्ने निर्णय गरिएको थियो । 

सभामुख अम्बरबहादुर विष्टको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन तथा सञ्चालन समितिको बैठकले यस्तो निर्णय गरेको सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रदेश सभाको स्थायी भवनमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण बैठक हलदेखि सचिवालय कार्यालयसम्म पूर्ण रूपमा ध्वस्त भएका थिए । 

त्यसपछि सभा बैठक तथा प्रशासनिक काम पूर्ण रूपमा ठप्प भएको थियो ।

कोशी प्रदेश सभाको सातौं अधिवेशन गत असोज १० गते अन्त्य भएको थियो । सचिवालयका अनुसार अब आउँदो आठौं अधिवेशन कटहरीमै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully