तत्कालीन सचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि ९ महिनादेखि प्रदेशसभा सचिवालय नेतृत्वविहीन थियो ।
विराटनगर — लामो समयदेखि रिक्त रहेको कोशी प्रदेशसभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् । संघीय संसद् सचिवालयका सचिव रहिसकेका खड्कालाई सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बुधबार नियुक्त गरेका हुन् ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरज ढकालका अनुसार सभामुखको सिफारिसमा पत्र लिएर प्रदेश प्रमुखको कार्यालय पुगेका खड्कालाई नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख खापुङले नियुक्त गरेका हुन् ।
यसअघि तत्कालीन सचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि ९ महिनादेखि प्रदेशसभा सचिवालय नेतृत्वविहीन थियो । पराजुलीले पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध रूपमा बालुवाखानी सञ्चालन गर्न दिएको आरोपमा अदालतले उनलाई ६ वर्ष कैद सजाय र जरिवाना गरेको थियो । अदालतको फैसलासँगै उनी स्वतः पदमुक्त भएका थिए ।
नवनियुक्त सचिव खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का निवासी हुन् । उनले २०७७ जेठ ३० गतेदेखि २०८२ जेठ २१ गतेसम्म संघीय संसद् सचिवालयमा सचिवका रूपमा कार्यभार सम्हालेका थिए । संघीय संसद्का महासचिव भरतराज गौतम नियुक्त भएपछि रिक्त भएको सचिव पदमा उनी बढुवा भएका थिए ।
खड्काले संघीय संसद्मा करिब तीन दशक लामो अनुभव सँगालेका छन् । उनी २०५१ चैतमा शाखा अधिकृतका रूपमा संसद् सेवामा प्रवेश गरी क्रमशः २०५९ मा उपसचिव, २०६७ मा सहसचिव र २०७७ मा सचिवमा पदोन्नति भएका थिए ।
