राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१ औं जन्म जयन्ती मनाइँदै

१९८८ साल बैशाख २४ गते पाँचथरको शिलौतीमा पूर्वी नेपाल अन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजहरुलाई भेला पारेर सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थालेका थिए ।

कार्तिक २५, २०८२

लक्ष्मी गौतम

Celebrating the 141st birth anniversary of national icon Falgunanda Lingden

What you should know

पाँचथर — नेपालका १६औं राष्ट्रिय विभूति एवं किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १ सय ४१ औं जन्म जयन्ती मनाइँदैछ ।

यो दिवश विशेषतःपाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशमा भव्यताका साथ मनाउने गरिन्छ । विक्रम सम्वत् १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका भएका फाल्गुनन्दलाई किराँत लिम्बू समुदायले समाज सुधारकका रुपमा लिने गरेका छन् ।

१९८८ साल बैशाख २४ गते पाँचथरको शिलौतीमा पूर्वी नेपाल अन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजहरुलाई भेला पारेर सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थालेका थिए ।

सत्यधर्म मुचुल्कामा छोरी छोरीलाई बराबर अध्ययन अध्यापन, लेखपढ र समान अंश बण्डा दिने लिने हक कायम गर्ने गराउनुपर्ने, सुनौली रुपौली र दाइजो प्रथा अन्त्य गर्नुपर्ने, छोरीहरु देवीका प्रतिक भएकाले उनीहरुको विहेका लागि कुरो छिन्दा कुटुम्बबाट रीत लिनु नहुने, दाइजो दिनको साटो शिक्षा दिक्षा दिनुपर्ने वा स्वावलम्बी बनाउनुपर्ने बुँदा उल्लेख छन् ।

बाल्यकालमा आफ्ना पितासागै गाई गोठमा बिताएका फाल्गुनन्दले जीवनको अन्तिम क्षणसम्म धुम्रपान, मध्यपान, विलासिता र अन्धविश्वासविरुद्व अभियान चलाएकाले उनलाई समाज सुधारकको उपमा दिइएको हो ।

२२ वर्षको उमेरमा भारतीय सेनामा भर्ना भएका उनले १३ वर्ष नोकरी गरेर फर्केपछि समाज सुधारको अभियानमा लागेका थिए । उनले नोकरीबाट फर्केपछि पाँचथर, इलाम, ताप्लेजुङ, भुटान र तेह्रथुममाका विभिन्न स्थानमा माङहिम (मन्दिर) निर्माण गर्दै सांस्कृतिक अभियान मार्फत ज्ञानको ज्योति प्रवाह गर्न थालेको पाइन्छ ।

बाल्यकालबाटै सत्यआहार, सत्य विहार, सत्य व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले खानपान र सस्कारले किराँत समुदाय पछाडी भन्दै किराँत धर्म हाङ साम्यो को थालनी गरेका थिए । जसलाई पछिल्लो समय फाल्गुनन्द पन्थ भनिन्छ ।

यो सिद्वान्त र सांस्कृतिक अभियानलाई निरन्तरता दिन इलामको बाँझे (लारुम्वा) र पाँचथरको शिलौती लगायतका स्थानलार्ई किराँत धार्मिक तथा सांस्कृतिक तथा धार्मिक पर्यटन केन्द्र मार्फत प्रचार प्रसार गरिँदैछ ।

उनको निधन २००५ साल चैत २२ गते भएको थियो । उनलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । उनी नेपालका १६ औं राष्ट्रिय विभूति हुन् । उनको समाधिस्थल पाँचथरको फाल्गुनन्द ७ सिलौटीमा छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully