पाँचथरमा भव्यता साथ मनाइयो १ सय ४१ औं फाल्गुनन्द जयन्ती

राष्ट्रिय विभूति एवं किराँत धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ४१ औं जन्म‍ जयन्ती भव्यता साथ मनाइएको छ ।

कार्तिक २५, २०८२

लक्ष्मी गौतम

141st Falgunanda Jayanti celebrated with grandeur in Panchthar

What you should know

पाँचथर — नेपालका १६ औं राष्ट्रिय विभूति एवं किराँत धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ४१ औं जन्म‍ जयन्ती भव्यता साथ मनाइएको छ ।

फाल्गुनन्दको कर्मभूमि फिदिम–५ स्थित लब्रेकुटी, समाधिस्थल फाल्गुनन्द–२ को सिलौती र फिदिम–४ सुम्हात्लुङ मन्दिरसहित जिल्लाभर उनको जयन्ती मनाइएको हो । योसँगै इलामको माङसेबुङ, पाँचथरका जोरपोखरी, गोपेटार, मिक्लाजुङ, तुम्वेवा र तेह्रथुमका विभिन्न स्थानका माङहिम र धार्मिक स्थलहरूमा किराँत धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम र पूजाआजासहित जयन्ती मनाएका हुन् ।

यस अवसरमा माङहिमहरुमा विशेष सेवा, पूजा आरधना, सांस्कृतिक कार्यक्रम, धार्मिक अनुष्ठान, प्रवचन र खेलकुद आयोजना गरिएको किराँत धर्म तथा साहित्य उत्थान संघ पाँचथरका अध्यक्ष ध्रुव तुम्बापोले बताए । विक्रम सम्वत् १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फलामसिंह लिङ्देन (फाल्गुनन्द) ले १९८८ साल वैशाख २४ गते पाँचथरको शिलौतीमा पूर्वी नेपाल अन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजहरुलाई भेला पारेर सत्यधर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको बिगुल फुकेका थिए ।

त्यही अनुसार किराँत धर्मावलम्बीले कात्तिक २५ फाल्गुनन्द जयन्ती र वैशाख २४ समाज सुधार दिवसका रूपमा मनाउँदै आएको तुम्बापोको भनाइ छ ।

सत्यधर्म मुचुल्का जारी गरेपछि फाल्गुनन्दलाई समाज सुधारकका रूपमा लिने गरिएको इतिहास छ । घर गाउँमा मदिरा सेवनका कारण दैनिकजसो हुने झगडा र मुद्दा मामिलासम्म पुग्ने गरेको कुरा फाल्गुनन्दले सत्य धर्म मुचुल्कामा उल्लेख गरेका छन् ।  

इलाममा जन्मेर पाँचथरलाई कर्मभूमि बनाई जीवनको अन्तिम घडीसम्म सांस्कृतिक अभियानको ज्ञान पुञ्ज छर्न उद्यत उनले प्रतिपादन गरेको सिद्वान्त र सांस्कृतिक अभियानलाई निरन्तरता दिन इलामको बाँझो–(लारुम्वा) र पाँचथरको शिलौती लगायतका स्थानलाई किराँत धार्मिक तथा सांस्कृतिक तथा धार्मिक पर्यटन केन्द्रमार्फत प्रचार प्रसार गरिँदैछ । उनको निधन २००५ साल चैत २२ गते भएको थियो । फाल्गुनन्दललाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully