देउसी खेलेर शिक्षकलाई तलब

गाउँपालिकाले करार रद्द गरेपछि गाउँका युवाहरूले देउसी खेलेर उपलब्ध गराएको रकमको स्रोतबाट तलब खाने गरी लक्ष्मी माझीले गत कात्तिक १५ गतेदेखि विद्यालयमा पढाउन थालेकी छन् ।

कार्तिक २४, २०८२

डम्बरसिं राई

Teachers get paid by playing Deusi

What you should know

खोटाङ — रावाबेसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका स्थानीयले देउसी खेलेर शिक्षकलाई तलब जुटाएका छन् । रावाबेसी गाउँपालिकाले करारमा नियुक्त गरेको तिर्पास्थित गुप्तेश्वर आधारभूत विद्यालयकी शिक्षिकालाई हटाएपछि स्थानीय आफैंले देउसी खेलेर उनका लागि तलबको जोहो गरेका हुन् ।

लक्ष्मी माझीलाई कात्तिक १ गतेदेखि लागू हुने गरी गाउँकार्यपालिकाको असोज २५ गतेको निर्णयले करार सम्झौता रद्द गरेको थियो । माझीलाई गाउँपालिकाले खर्बास्त गरेपछि उनैलाई तलब खुवाउन देउसी खेलेर रकम जोहो गरिएको विद्यालयका प्रधानाध्यापक धनेशबाबु पाण्डेले बताए । उनले सोही विद्यालयमा पढाउने छिन् ।

‘गाउँपालिकाले करारका शिक्षिकालाई हटाउने निर्णय गरेपछि गाउँले युवाहरूले देउसी खेलेर तलबको व्यवस्था गरेका हुन्,’ पाण्डेले भने, ‘गाउँका सात समूहका युवाहरूले देउसी खेलेर प्रत्येक समूहले एक महिनाको तलब खुवाउने रकम जुटाएका छन्, मङ्सिर १० गते विद्यायको खातामा जम्मा गर्ने निर्णय भएको छ ।’ 

२०७६ सालबाट गाउँपालिकाको स्रोतबाट गणित विषय शिक्षक नियुक्त गरिएको थियो । उक्त पदमा कार्यरत विणा विश्वकर्मा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित अन्नपूर्ण माविमा राहत दरबन्दीमा नियुक्त भएपछि उक्त पदमा गत भदौमा माझी नियुक्त भएकी थिइन् । गाउँपालिकाले करार रद्द गरेपछि गाउँका युवाहरूले देउसी खेलेर उपलब्ध गराएको रकमको स्रोतबाट तलब खाने गरी माझीले गत कात्तिक १५ गतेदेखि विद्यालयमा पढाउन थालेकी छन् । 

१ सय २ जना विद्यार्थी भएको उक्त विद्यालयमा प्रावि दरबन्दीका चार, संघीय अनुदानका निमावि एक शिक्षक कार्यरत छन् । २०८० जेठमा तीन विद्यार्थी, एक शिक्षक र एक कार्यालय सहयोगीसहित यो विद्यालय कालिका आधारभूत विद्यालयमा मर्ज भएको थियो । 

रावाबेसी गाउँपालिकाले १८ शिक्षक र १४ कर्मचारी गरी ३४ जनाको करार सेवा रद्द गरेको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully