उनीहरूले भन्सार विभागका प्रमुखसहित प्रशासन प्रमुखलाई भेटेर ओलाङचुङगोला भन्सारका कर्मचारी तत्काल पठाइदिन आग्रह गरेका छन्।
ताप्लेजुङ — वर्षौँदेखि बन्द रहेको ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनका लागि दबाब दिँदै आएका ताप्लेजुङको जेन-जी समूहका प्रतिनिधि कर्मचारी खोज्दै आइतबार भन्सार विभाग काठमाडौं पुगेका छन्। उनीहरूले भन्सार विभागका प्रमुखसहित प्रशासन प्रमुखलाई भेटेर ओलाङचुङगोला भन्सारका कर्मचारी तत्काल पठाइदिन आग्रह गरेका छन्।
यसअघि जिल्लामा जनप्रतिनिधि, राजनीतिक दल र नागरिक समाजबीच भएको अन्तरक्रिया कार्यक्रमको निचोड पनि विभाग प्रमुख समक्ष अवगत गराइएको थियो।
जेन जीका दिनेश सिग्देल र मुकेश कार्की नेतृत्वको टोलीले १५ दिनभित्र कर्मचारी पठाइदिने आश्वासन पाएको बताएका छन्।
'त्यहाँ दरबन्दी भएका कर्मचारी अन्यत्रै रहेछन्,' दिनेशले भने, 'भन्सार विभागका प्रशासन प्रमुखले कर्मचारीको विवरण हेरेर एक सातादेखि १५ दिनभित्र पुग्ने गरी पठाउने बताएका छन्।'
भन्सार विभागका उपमहानिर्देशक (व्यवस्थापन तथा अनुपालन महाशाखा) भरतमनी पाण्डेले भन्सार कार्यालय स्थापनाका क्रममा स्थानीयबाट पाउने सहयोगका विषयमा फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामासँग पनि आइतबारै कुराकानी गरेका छन्।
वडाध्यक्ष लामाले यसअघि एक जना नायब सुब्बा र एक जना कार्यालय सहयोगी उपलब्ध गराइदिन निवेदन दिएका थिए।
