फिदिममा एकहप्ते च्याब्रुङ प्रशिक्षण

लिम्बू समुदायको संस्कार र संकृतिमा आधारित च्याब्रुङ नाचको संरक्षणका लागि युवा पुस्तालाई प्रशिक्षित गर्न यो तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्तिक २४, २०८२

लक्ष्मी गौतम

One-week Chhabrung training in Phidim

पाँचथर — पाँचथरमा एक हप्ते च्याब्रुङ नाच सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । सदरमुकाम फिदिममा आयोजित प्रशिक्षणमा विभिन्न समुदायका ४९ जना युवा र किशोर किशोरी सहभागी भएको आयोजक याक्थुङ मुन चइत पान्थरका अध्यक्ष फुङ्सो जवेगूले जानकारी दिए ।

लिम्बू समुदायको संस्कार र संकृतिमा आधारित च्याब्रुङ नाचको संरक्षणका लागि युवा पुस्तालाई प्रशिक्षित गर्न यो तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

नव पुस्तालाई आफ्ना पिता पुर्खासँग भएको ज्ञान र सीप युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले यो प्रशिक्षण सञ्चालन गरिएको बताइएको छ । प्रशिक्षणमा सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिएका थिए । तालिम आयोजना गर्न विभिन्न व्यक्ति र संस्थाले आर्थिक र जिन्सी सहयोग गरेको आयोजक संस्थाकी सचिव रजनी हाङसरुम्वाले बताइन् ।

तालिम समापन समारोहको अवसर पार्दै तालिमका प्रशिक्षक र सहयोगीहरुलाई कदर पत्र र नगदसहित सम्मान गरिएको थियो । समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै लिम्बू चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष सागर केरुङले च्याब्रुङ नृत्यसँगै संस्कृति संरक्षणका लागि जागरण ल्याउन देशव्यापी अभियान चलाउनुपर्ने आवस्यकता औंल्याए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully