झापामा प्रहरी कार्यालय आगजनी गर्ने १० जना पक्राउ

दमकबाट ४ र बिर्तामोडबाट ६ गरी १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्तिक २४, २०८२

रासस

10 arrested for setting fire to police office in Jhapa

काठमाडौँ — इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

गत भदौ २४ गते दमकको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीका घटनामा उनीहरू संलग्न भएको आरोप छ । योसँगै इप्रका दमकमा आक्रमण गर्ने चार जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

प्रहरीका अनुसार दुई दिनअघि मात्र इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा पाँचथरको मिक्लाजुङ–५ स्थायी ठेगाना भई हाल दमक–५ मा बस्दै आएका २१ वर्षीय साजन लुहागुनलाई नियन्त्रणमा लिएर आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको छ ।

अहिलेसम्म प्रहरीले दमकबाट चार र बिर्तामोडबाट छ गरी १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरी कार्यालयमा आक्रमण गर्नेहरूको भिडियो र फोटोको आधारमा पहिचान गर्ने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ । सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरूमाथि ५० भन्दा बढी उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रासस

Link copied successfully