पछिल्लो समय लागूऔषध सेवनकर्ताको केन्द्रबिन्दु बन्दै गएको सुनसरीको लौकही नाकालाई लक्षित गरी सीमाक्षेत्र नजिकको विद्यालयमा सशस्त्र प्रहरीले सचेतना कक्षा सञ्चालन गरेको हो ।
सुनसरी — सीमा क्षेत्रका बालबालिकालाई दुर्व्यसनीबाट जोगाउँदै जिम्मेवार नागरिक बनाउने उद्देश्यले सुनसरीमा सचेतना अभियान सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले सीमावर्ती क्षेत्र लौकहीको राष्ट्रिय माविबाट कार्यक्रमको सुरुवात गरेको हो ।
आइतबार लौकही छोटी भन्सारसँग जोडिएको राष्ट्रिय माविका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कक्षाको आयोजना गरेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रहरी उपरिक्षक निर्मल थापाले जानकारी दिए ।
पछिल्लो समय लागूऔषध सेवनकर्ताको केन्द्रबिन्दु बन्दै गएको सुनसरीको लौकही नाकालाई लक्षित गरी सीमाक्षेत्र नजिकको विद्यालयमा सशस्त्र प्रहरीले सचेतना कक्षा सञ्चालन गरेको थापाले बताए ।
सीमा क्षेत्रबाट हुने चोरी, तस्करीसँगै लागूऔषध कारोबार र दुर्व्यसनीमा युवा नलागून् भन्ने उद्देश्यले सीमानाका नजिकको विद्यालय केन्द्रित कार्यक्रमलाई अन्य विद्यालयमा पनि विस्तार गरिने कार्यक्रम छ । भारतसँग ६२ किलोमिटर सीमा जोडिएको सुनसरीमा ९ वटा बीओपी र २ प्रस्तावित सीमा सुरक्षा गुल्म रहेका छन् ।
