पाँचथरमा खोरेतविरुद्वको अभियान सुरु

स्वस्थ दूध उत्पादन गरेर दुग्धजन्य वस्तुको निर्यात प्रवर्द्धन गर्न यस्तो अभियान चलाइएको हो ।

कार्तिक २३, २०८२

लक्ष्मी गौतम

Anti-Khoret campaign launched in Panchthar

What you should know

पाँचथर — पाँचथरका ७ वटा स्थानीय तहमा खोरेत रोगविरुद्धको अभियान सुरु भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथर र स्थानीय तहहरूको आयोजनामा यो अभियान सुरु भएको हो ।

फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले र हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीसहितको टोलीले आइतबार संयुक्त रुपमा खोप अभियानको उद्घाटन गरेका हुन् ।

दुध र दुधजन्य वस्तुका स्रोत गाई, भैंसी र चौंरी गरी ६६ हजार पशु चौपायालाई खोप लगाउने लक्ष्यसहित सुरु भएको अभियान जिल्लाको फिदिम नगरपालिकासहित फालेलुङ, हिलिहाङ, तुम्वेवा, कुम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकामा एकसाथ सुरु गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ ।

अन्य पालिकामा पनि जनप्रतिनिधि र भेटेनरी अस्पतालका पशु चिकित्सक र स्थानीय तहका प्राविधिकको उपस्थितिमा सुरु गरिने विज्ञ केन्द्रका सूचना अधिकारी निरजकुमार भट्टराईले जानकारी दिए । स्वस्थ दूध उत्पादन गरेर दुग्धजन्य वस्तुको निर्यात प्रवर्द्धन गर्न यस्तो अभियान चलाइएको हो ।

यो अभियानमा दुधका स्रोत गाई, भैंसी र चौंरीलाई खोप लगाइँदैछ । अभियान मंसिर २३ गतेसम्म निरन्तर चलाउने तालिका छ । अभियानका लागि आवश्यक भ्याक्सिन संघीय सरकारले उपलब्ध गराएको छ भने प्रदेश सरकारले आर्थिक व्यवस्थापन गरेको छ । जस अनुसार नगरपालिकालाई ५ लाख र गाउँपालिकाहरूलाई १ लाख २५ हजारका दरले रकम उपलब्ध भएको छ ।

सरकारले यसअघि इलाम जिल्लालाई दुग्धजन्य पदार्थ उत्पादनका लागि पकेट क्षेत्रका रूपमा स्थापित गरेको छ । सोही अनुसार छिमेकी जिल्ला पाँचथरमा पनि खोरेतविरुद्धको खोप अभियान सुरु गरेको हो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully