शान्ति सुरक्षा व्यवस्थापनका लागि कार्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म आकस्मिकबाहेक पूर्णतः आवतजावत बन्द रहने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले जानकारी दिए ।
What you should know
सुनसरी — सीमावर्ती बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाकामा आवागमन बन्द गरिने भएको छ ।शनिबार बेलुकादेखि तीन दिनसम्म नाका बन्द हुनेछ ।
कार्तिक २५ गते हुन लागेको बिहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै शनिबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म सीमानाकामा आवागमन बन्द रहने भएको हो ।
शान्ति सुरक्षा व्यवस्थापनका लागि कार्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म आकस्मिकबाहेक पूर्णतः आवतजावत बन्द रहने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले जानकारी दिए ।
सुरक्षालाई ध्यान दिँदै भारतीय पक्षबाट सीमानाका बन्द गरिदिन आग्रह भएपछि आगामी ७२ घण्टाका लागि अत्यावश्यक बाहेकका सबै किसिमका आवतजावत बन्द गरिएको श्रेष्ठले जानकारी दिए । दोस्रो चरणको निर्वाचनमा सीमावर्ती जिल्ला लगायत १ सय २१ विधान सभा सिटका लागि १ हजार ३ सय २ जना उमेदवारबीच प्रतिस्पर्धा हुन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बिहारको राजधानी पटना लगायत १८ वटा जिल्लाका १ सय २१ विधान सभाका लागि कार्तिक २० गते सम्पन्न प्रथम चरणको निर्वाचनमा १ हजार ३ सय १४ जना उम्मेदवार मैदानमा उत्रेका थिए । बिहारको पटना, मुज़फ़्फरपुर, दरभंगा, मधेपुरा, सहरसा, गोपालगन्ज, सिवान, सारण, वैशाली, समस्तीपुर, बेगूसराय, लखीसराय, मुंगेर, शेख़पुरा, नालंदा, बक्सर र भोजपुर जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ ।
बिहार विधान सभाको कुल २ सय ४३ सिटमध्ये १८ वटा जिल्लाको १२१ निर्वाचन क्षेत्रमा सम्पन्न निर्वाचनमा ३ करोड ७५ लाख अर्थात् ६४.६६ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरेको बीबीसीले जनाएको छ ।
