एजेनजी युनाइटेडद्वारा एकताको आह्वान

भदौ २३ आन्दोलन र २४ को प्रदर्शनपश्चात् जेनजीहरूलाई विभाजित गर्ने षड्यन्त्र भइरहेकाले दल र समूहका नाममा विभक्त नभएर एकीकृत हुनुपर्ने आवश्यकता देखिएकाले यस्तो अभियान थालिएको आयोजकको दाबी ।

कार्तिक २२, २०८२

लक्ष्मी गौतम

Agency United calls for unity

पाँचथर — विभिन्न दल र समूहमा आबद्ध भएका जेनेरेसन जेड (जेनजी) र युवालाई एकीकृत हुन आह्वान गर्दै पाँचथरको फिदिममा बृहत् र्‍याली, आमसभा र नाटक प्रदर्शन भएको छ ।

जेनजी युनाइटेडका नामबाट शनिबार निकालिएको र्‍यालीमा जिल्लाका आठवटै स्थानीय तहबाट आएका युवकयुवती र किशोरकिशोरी सहभागी थिए । सहभागीहरुले ‘देशभरका जेनजी एक होऔं, सहिदको सपना पूरा गरौं र परिवर्तन सम्भव छ’ नारा अंकित प्ले कार्ड र नेपालको राष्ट्रिय झण्डा बोकेर फिदिम बजार परिक्रमापश्चात् फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सभा र नाटक प्रस्तुत गरे ।

सदरमुकाम फिदिमको सिरानमा अवस्थित शिवालय मन्दिरबाट सुरु भएको र्‍याली बजारका विभिन्न चोक परिक्रमा गरेको थियो । त्यसपश्चात् आयोजित कार्यक्रममा २०३६ सालदेखि २०८२ सम्म परिवर्तनका लागि भएका आन्दोलन, राज्यको दमन र भ्रष्टाचारको अवस्था चित्रण गर्दै ‘परिवर्तन’ शीर्षकको नाटक प्रदर्शन गरिएको थियो ।

र्‍यालीमा एक हजारभन्दा धेरै जेनजी र केही अभिभावक सहभागी भएको आयोजक जेनजी युनाइटेडका संयोजक राकेश राईले जानकारी दिए । उनका अनुसार जेनजी युनाइटेडले यस अभियानलाई अब मुलुकका ७७ जिल्लामै सञ्चालन गर्ने र देश परिवर्तनका लागि आमनेपाली नागरिकसमक्ष आग्रह गर्नेछ ।

भदौ २३ आन्दोलन र २४ को प्रदर्शनपश्चात् जेनजीहरुलाई विभाजित गर्ने षड्यन्त्र भइरहेकाले दल र समूहका नाममा विभक्त नभएर एकीकृत हुनुपर्ने आवश्यकता देखिएकाले यस्तो अभियान थालिएको आयोजक संस्थाकी मन्जना थुलुङले बताइन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully