बिहारमा विधानसभा निर्वाचन सुरु, शनिबारदेखि ७२ घण्टा नाका बन्द हुने

बिहारमा ११ नोभेम्बरमा हुने दोस्रो चरणको निर्वाचनका लागि भद्रपुर नाका ७२ घण्टा बन्द गरिन लागिएकाे हाे ।

कार्तिक २०, २०८२

नवराज सुवेदी

Assembly elections begin in Bihar, border crossings to be closed for 72 hours from Saturday

झापा — सीमावर्ती भारतीय राज्य बिहारमा सुरु भएको विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने भएको छ ।

विहारमा विधानसभाको निर्वाचन ६ नोभेम्बर अर्थात आजबाट सुरु भइसकेको छ । ११ नोभेम्बर अर्थात २५ कात्तिकमा त्यहाँ दोस्रो चरणको निर्वाचन भइरहेकाे छ । उक्त निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार नोभेम्बर ८ अर्थात कात्तिक २२ गते शनिबार साँझ ५ बजेदेखि नोभेम्बर ११ अर्थात कात्तिक २५ गते मंगलबारसम्म नाका बन्द रहनेछ ।

बिहारमा बिहीबार पहिलो चरणको निर्वाचन सुरु भएकाे छ । यद्यपि अहिले भने सीमा नाका बन्द गरिएकाे छैन । अहिले सीमा नाकामा नेपाल–भारत दुवै तर्फबाट कडाइ गरिए पनि आवतजावत बन्द भने नरहेको सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।

ती अधिकारीका अनुसार सीमा नाका बन्द गर्नेबारे भारतीय पक्षले मौखिक रुपमा भने पनि औपचारिक पत्र आएको छैन । ‘नेपालतर्फ निर्वाचन हुँदा भारतीय पक्षले सहयोग गर्ने र भारततर्फ हुँदा नेपालबाट सहयोग गरिँदै आएको छ । सोही अनुरुप निर्वाचनलाई लक्षित गरी सीमा नाका पूर्ण रुपमा सिल गर्न लागिएको हो । भारतीय पक्षले नाकालाई पूर्ण रुपमा सिल गरिदिन भनेका छन्,’ ती अधिकारीले भने । नाका बन्द हुँदा दुवै देशका नागरिकलाई सीमा प्रवेशमा निषेध गरिने जनाइएको छ ।

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी सभालाई सम्बाेधन गर्न बिहारकाे अररिया आइरहेका छन् ।माेदीकाे सभालाई लक्षित गरी नेपाल–भारत सीमामा दुवै देशका सुरक्षाकर्मीले सतर्कता समेत बढाएका छन् ।

नवराज

Link copied successfully