धनकुटा र भोजपुरमा गाँजा फडानी

कोशी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर अवैध लागूऔषध नियन्त्रणका अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Marijuana cultivation in Dhankuta and Bhojpur

विराटनगर — कोशी प्रदेश प्रहरीले धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको र आफैं उम्रिएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ।  'सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत प्रदेश प्रहरी कार्यालय विराटनगरले सञ्चालन गर्दै आएको गाँजा नियन्त्रण अभियानलाई निरन्तरता दिँदै प्रहरीले दुई जिल्लामा सयौं रोपनी क्षेत्रभित्र फैलिएका गाँजाका बोट नष्ट गरेको हो।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार, कात्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिका–२ का विभिन्न पाखा बारी र जंगल आसपासका क्षेत्रलाई लक्षित गरी सघन खोज तथा फडानी अभियान सञ्चालन गरेको थियो। उक्त अभियानबाट करिब ५ रोपनी क्षेत्रफलमा प्राकृतिक रूपमा हुर्केका करिब ९ हजार ५ सय वटा गाँजाका बोट फडानी गरी स्थलमै जलाई नष्ट गरिएको प्रहरी स्रोतले जनाएको छ।

Marijuana cultivation in Dhankuta and Bhojpurयसैगरी, भोजपुर जिल्लामा पनि अवैध गाँजा खेती नियन्त्रणका लागि प्रहरीले व्यापक अभियान चलाएको छ। इलाका प्रहरी कार्यालय घोडेटार र मातहतका प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले हतुवागढी गाउँपालिकाअन्तर्गतका विभिन्न पाखा बारीमा लगाइएको तथा आफैं उम्रिएको करिब ९ रोपनी क्षेत्रमा फैलिएको १ हजार १ सयभन्दा बढी गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको हो।

प्रहरीका अनुसार, स्थानीय समुदायसँग समन्वय गरेर गाँजा खेती नियन्त्रणका कार्यक्रमलाई अझ सशक्त बनाउने योजना रहेको छ। प्रहरीले अवैध लागुऔषध खेतीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने तयारी पनि अघि बढाएको बताएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर अवैध लागूऔषध नियन्त्रणका अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। पछिल्ला महिनाहरूमा प्रदेशका दुर्गम गाउँ र पाखा क्षेत्रमा गाँजा खेती फस्टाउँदै गएको सूचनाका आधारमा प्रहरीले यस्तो सघन अनुगमन र फडानी अभियान तीव्र पारेको हो।

कान्तिपुर

Link copied successfully