जेन-जीले प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईमार्फत सरकारलाई पठाइएको ज्ञापनपत्रमा चार बुँदे माग राखिएको छ ।
ताप्लेजुङ — नेपाल–चीन सीमास्थित टिपताला भञ्ज्याङ नाका सञ्चालनका लागि जेन-जी समूहले दबाब दिएको छ। यो नाका सञ्चालनका लागि तत्काल अध्यागमन र भन्सार कार्यालय स्थापना हुनुपर्ने उनीहरूको माग छ।
पहिलो चरणमा जिल्लाका राजनीतिक दल, प्रशासन, उद्योगी–व्यापारीसँग छलफल गरेका उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।
अब अर्थमन्त्री र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन संघीय राजधानी काठमाडौं जाने योजनामा रहेको उनीहरूको भनाइ छ। जेन-जीले प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईमार्फत सरकारलाई पठाइएको ज्ञापनपत्रमा चार बुँदे माग राखिएको छ ।
पहिलो बुँदामा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा रहेको मूल भन्सार कार्यालयमा १५ दिनभित्र कर्मचारी खटाई कामकाज सुरु गर्ने व्यवस्था गर्न माग गरिएको छ । दोस्रो मागमा नेपाल–चीन सीमापास परिचयपत्र जिल्लाका सम्पूर्ण नागरिकले पाउने व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ ।
तेस्रो, तमोर करिडोर सडक (मूलघाट–दोभान–ओलाङचुङगोला) स्तरोन्नति तथा बेलिब्रिज निर्माण गरी पूर्वकै छोटो दूरीको उत्तर–दक्षिण (रानी–टिपताला) सडकलाई महत्त्वको व्यापारिक नाका बनाउन माग गरिएको छ ।
चौथो तथा अन्तिम प्रस्ताव भने फक्ताङलुङ–७ मौवाटारमा बन्दरगाह निर्माणको सम्भावना रहेको र अध्ययन समेत भएकाले तत्काल कार्य अगाडि बढाउन माग गरिएको छ ।
दबाब अभियान सञ्चालनका लागि गोपाल गुरागाईको संयोजकत्वमा जिल्लास्तरीय जेनजी समूह समेत गठन भएको छ ।
