बैठकमा फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, मेरिङदेन गाउँपालिका अध्यक्ष युक हांविर हाङगाम, सिरिजङ्गा अध्यक्ष लालकृष्ण चौहान, मिक्वाखोला अध्यक्ष भक्तबहादुर कार्की, फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्रा, पाथीभराका अध्यक्ष केशर लिम्बू र मैवाखोला गाउँपालिका प्रवक्ता चन्द्र तामाङ उपस्थित थिए ।
ताप्लेजुङ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे ताप्लेजुङमा छलफल सुरु भएको छ । निर्वाचन अधिकारीको कार्यालयले मतदान केन्द्र र मतदान स्थलका विषयमा राजनीतिक दल र स्थानीय तहका जनप्रतिनिधिसाग पहिलो चरणमा छलफल सुरु गरेको हो ।
छलफलमा कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, एमाले सचिव सन्तोष चाम्लिङ, माओवादी केन्द्रका संयोजक विष्णु हाङवाङ, नेकपा एसका सचिव मोहन न्यौपाने, राप्रपाका तेजबहादुर गुरुङ, जसपाका सूर्य तमु, राष्ट्रिय जनमुक्तिका मोतीलाल लिम्बू र मंगोल नेसनल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू गरी आठ राजनीतिक दलको उपस्थिति रहेको निर्वाचन अधिकारी वान्दवराज दुलालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्यक्रम निर्वाचन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेडाइको अध्यक्षतामा भएको थियो । बैठकमा फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, मेरिङदेन गाउँपालिका अध्यक्ष युक हांविर हाङगाम, सिरिजङ्गा अध्यक्ष लालकृष्ण चौहान, मिक्वाखोला अध्यक्ष भक्तबहादुर कार्की र फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्रा उपस्थित थिए । उनीहरू सबै कांग्रेसबाट निर्वाचित प्रमुख तथा उपप्रमुख हुन् । एमालेबाट निर्वाचित पाथीभरा याङवरक अध्यक्ष केशर लिम्बू र माओवादीबाट निर्वाचित मैवाखोला गाउँपालिका प्रवक्ता चन्द्र तामाङको सहभागिता रहेको थियो ।
छलफलमा हाल रहेको मतदान स्थल र मतदान केन्द्र थपघट, हेरफेरको विषयमा छलफल भएको दुलालले बताए । उनका अनुसार यो महिनाको अन्तिमसम्ममा सिफारिस गर्ने गरी मतदान केन्द्र र स्थलका विषयमा राजनीतिक दल र जनप्रतिनिधिसँग राय लिइएको हो ।
यसअघि नै वडालाई सिफारिस गर्न पत्राचार गरिसकिएको छ । फुङलिङ नगरपालिका, मिक्वाखोला, फक्ताङलुङ, मैवाखोला र सिरिजंगा गाउँपालिकाले मतदान स्थल थपका लागि र केन्द्र परिवर्तनका लागि प्रस्ताव गरेका छन् । अब वडाले मतदाताको विवरणसहितको सिफारिस गरेपछि पुनः छलफल गर्ने गरी बैठक टुङ्गिएको प्रमुख जिल्ला अधिकारी सेढाइले जानकारी दिए ।
अहिलेसम्म जिल्लामा ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेको तथ्यांक कार्यालयसँग छ । छलफलमा सहभागी सबैजसोले निर्वाचनको पक्षमा वकालत गरेको सहभागीले बताएका छन् ।
