उनीहरूले चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीलाई कुटपिट गरी ज्यान मार्ने धम्की दिएका थिए।
संखुवासभा — संखुवासभाको चैनपुरमा आपराधिक लाभ कसुरमा संलग्न रहेको आरोपमा ६ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले प्युठान घर भई हाल चैनपुर बसोबास गर्ने ३० वर्षीय के. बी. पुन मगर, चैनपुर नगरपालिका–७ का २५ वर्षीय लव आले मगर, ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु भन्ने यमसिख यसमाली मगर, २५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय ऐम बिरेन यसमाली मगरलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार कात्तिक १२ गते राति करिब १० बजे सुनसरी गढी गाउँपालिका–५ घर भई हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीलाई ती व्यक्तिहरूले मोटरसाइकल रोकेर कुटपिट गर्दै चाबी खोसेका थिए । त्यसपछि चौधरीलाई जबरजस्ती पदमबहादुर यसमाली मगरको घरमा लगेर सिसाको बोतल फुटाउँदै मारिदिने धम्की दिँदै जबरजस्ती भिडियो खिचिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीका अनुसार भिडियो मिडियामा हालिदिने धम्की दिँदै चौधरीबाट ८१ हजार १ सय ४५ रुपैयाँ जबरजस्ती असुल गरेका थिए ।
पीडितले दिएको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट सबै अभियुक्तलाई नियन्त्रणमा लिएर ३८ हजार ४ सय ७० रुपैयाँ नगद समेत बरामद गरेको उनले बताए । प्रहरीले पक्राउ परेकामाथि आपराधिक लाभ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
