मौसममा सुधार आएपछि आ–आफ्नो गन्तव्यतर्फ लागे घुन्सामा भेला भएका पर्यटक

आइतबार बिहानदेखि मौसम खुलेपछि पर्यटकले घुन्सा छोड्न थालेको पर्यटन व्यवसायी एवं घुन्सा आधारभूत विद्यालयका शिक्षक छ्युमे शेर्पाले जानकारी दिए ।

कार्तिक १६, २०८२

आनन्द गौतम

Tourists gathered in Ghunsa headed to their respective destinations after the weather improved.

ताप्लेजुङ — मौसममा खराबी आएपछि फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा केन्द्रीकृत भएका स्वदेशी तथा विदेशी पर्यटकहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

आइतबार बिहानदेखि मौसम खुलेपछि पर्यटकले घुन्सा छोड्न थालेको पर्यटन व्यवसायी एवं घुन्सा आधारभूत विद्यालयका शिक्षक छ्युमे शेर्पाले जानकारी दिए । 

‘हिजोसम्म त पानी र हिउँ परेको परेकै भयो । आज बिहानदेखि मौसम छ्याङ्गै भएर खुलेपछि होटलको बिल बुझाएर बिहानैदेखि सबै आ–आफ्नो गन्तव्यतर्फ जाँदैछन्’ छ्युमेले भने ।

सदरमुकाम फुङलिङतिर फर्कनेले बिहान पाँच बजेदेखि नै घुन्सा छोडेको उनले टेलिफोनमा जानकारी दिए । कञ्चनजङ्घा उत्तरी तथा दक्षिणी वेश क्याम्प जानेहरु पनि कुम्लोकुटिरो कसेर हिँड्न थालेको उनले बताए ।

उत्तरी आधार शिविर पाङपेमा जानेहरू खम्बाछेनमा पुगेर बस्ने र भोलिमात्रै बेसक्याम्प जाने भएकाले बाटो ठीकै रहेको अर्का पर्यटन व्यवसायी छिरिङ शेर्पा बताउँछन् ।

‘घाम लागेकाले बाटोमा भएको हिउँ बिलाउँदै जान्छ, अलिअलि त मान्छेले हिडेर पनि बाटो बनाउनुपर्छ,’ उनले थपे, ‘स्थानीयले पनि पुरापुर सहयोग पुर्‍याउँछौँ ।’ दक्षिणी बेसक्याम्प जानेहरु पनि घाम लागेर बाटो खुलेकाले गन्तव्यतर्फ लागेको उनले सुनाए ।

हिमपात र लगातारको वर्षाका कारण कञ्चनजङ्घाका पर्यटकहरू घुन्सामा केन्द्रीकृत भएका थिए । घुन्साका सबै होटल र घरहरू पर्यटकले भरिएको त्यहाँबाट फर्किएका पर्यटन व्यवसायी अमिर राईले जानकारी दिए । 

‘मेरो टोली हिँड्‌न सक्ने भएकाले अलिअलि पानी पर्दै गर्दा पनि सदरमुकाम फर्किहालिउँ,’ उनले थपे, ‘घुन्साका घरमा पनि बास पाउन मुस्किल पर्नेगरीको भिड लागेको थियो तर स्थानीयले सबैलाई व्यवस्थापन मिलाएका थिए ।’

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन सहायक टाँसी शेर्पाका अनुसार यो सिजनमा तीन सय बढी विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरिरहेका छन् । कात्तिक महिनाभरि नै पर्यटकहरूको चहलपहल हुने उनले बताए ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully