धरानको केन्द्रीय प्राविधिक क्याम्पसमा ६ बुँदे माग राख्दै विद्यार्थी धर्नामा

माग पूरा नभएसम्म आफूहरू दैनिक रूपमा बिहान १० बजेदेखि एक घण्टा धर्नामा बस्ने स्ववियु सभापति पेशलराज कार्की र कोषाध्यक्ष नाम्छाहाङ राईले बताए ।

कार्तिक १६, २०८२

एलिना राई

Students stage sit-in at Dharan's Central Technical Campus, demanding 6 points

धरान — धरानको केन्द्रीय प्राविधिक क्याम्पस, हात्तीसारको शैक्षिक गुणस्तरसहित विभिन्न ६ बुँदे माग राख्दै स्ववियु सभापतिसहित विद्यार्थीहरू धर्नामा बसेका छन् ।

क्याम्पस सञ्चालक समितिको शनिबार भएको बैठकमा  विद्यार्थीको सरोकारका विषय नसमेटिएको भन्दै आइतबारदेखि स्ववियु सभापति पेशलराज कार्की र कोषाध्यक्ष नाम्छाहाङ राई ६ बुँदे मागसहित धर्नामा बसेका हुन् । माग पूरा नभएसम्म आफूहरू दैनिक रूपमा बिहान १० बजेदेखि एक घण्टा धर्नामा बस्ने उनीहरूले बताए ।

सभापति कार्कीका अनुसार क्याम्पस स्वायत्त भए पनि त्रिभुवन विश्वविद्यालयको निर्देशिका र स्वायत्तताको निर्देशिका कुनलाई मानेर चल्ने भन्ने अन्योल भएको, विद्यार्थीहरूको उत्तीर्ण संख्या घट्दो रहँदा अझै पनि विद्यार्थी कोटा थप्न चाहनुको कारण प्रष्ट पार्नुपर्ने, क्याम्पस प्रशासनको बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्नुपर्ने र क्याम्पस पदाधिकारी अफिस टाइमसम्म बस्नुपर्ने पनि माग रहेको छ ।

यसैगरी, वार्षिक रूपमा तिरिने टेक्स क्लियरेन्स पनि सार्वजनिक गर्नुपर्ने, विभिन्न निकायबाट अनुदान स्वरूप क्याम्पस स्वयत्ततामा गएपछिका आय, व्ययका विवरण सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ । 

स्ववियु सभापति कार्कीका अनुसार अघिल्लो स्ववियु नेतृत्वका बेलादेखि नै प्रशासनमा विभिन्न माग राखेर पत्र बुझाए पनि ती माग पूरा नभएकाले आन्दोलनमा उत्रनुपरेको उनको हो । उनले क्याम्पसको शैक्षिक गुणस्तर खस्कँदो भएकाले सुधारका लागि सबै लागिपर्नु पर्ने पनि बताए ।

क्याम्पस प्रमुख प्राध्यापक वसन्तकुमार राईले विद्यार्थीले उठाएका माग क्याम्पसको हितमा नै भएकाले पूरा गर्न संवाद गर्ने बताए । मागपत्र आधिकारिक रूपमा आएपछि छलफल गरी समाधानका उपाय खोजिने उनको भनाइ छ  ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully