प्रतिकूल मौसमका कारण उनी कार्तिक ११ बाट उक्त क्षेत्रमा फसेका थिए।
संखुवासभा — संखुवासभाकाे मकालु गाउँपालिकास्थित मकालु बेस क्याम्पबाट सोलुखुम्बुतर्फ ट्रेकिङका लागि निस्किएका जेसस मार्टिनेज नोभासलाई ट्रेकिङ रूटकाे शेर्पिनिकोल क्षेत्र (५७०० मिटर उचाइ) बाट उद्धार गरिएकाे छ ।
प्रतिकूल मौसमका कारण उनी कार्तिक ११ बाट उक्त क्षेत्रमा फसेकाे प्रहरीले जनाएकाे छ । उनलाई आइतबार बिहान साढे ८ बजे निजी हेलिकप्टर सेवा प्रदायक कम्पनी ईजी हेली चार्टर सर्भिसले उद्धार गरेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी कुमारप्रसाद मैनालीले बताए ।
उद्धार टोलीले उनलाई संखुवासभाको उच्च हिमाली क्षेत्र शेर्पिनिकोलबाट सुरक्षित रूपमा निकालेर सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका–४, डिङबोचेमा पुर्याएको उनले बताए । उक्त क्षेत्रमा लगातार हिमपात र खराब मौसमका कारण नाेभास ६ दिन अघिबाट फसेका थिए।
गत कार्तिक ११ गतेदेखि हराइरहेका उनको खोजीका लागि स्पेनीस दूतावास, प्रहरी प्रशासन र निजी उद्धार कम्पनीले समन्वय गरेका थिए।
