सडक डिभिजन इलामले भासिएको सडक मर्मत गरेसँगै यहाँबाट दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारीका साधन आवागमन सुरु भएको हो ।
पाँचथर — कात्तिक १३ गतेदेखि अवरुद्ध मेची राजमार्गको इलाम खण्ड अन्तर्गत राजदुवाली खण्डबाट साना सवारी साधनको आवागमन सुरु भएको छ।
सडक डिभिजन इलामले भासिएको सडक मर्मत गरेसँगै यहाँबाट दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारीका साधन आवागमन सुरु भएको हो ।
गत असोज १७ र १८ गतेको अविरल झरीका कारण क्षतिग्रस्त मेची राजमार्गको यो खण्ड सडक डिभिजन इलामले १४ दिनको प्रयत्न पश्चात् सञ्चालनमा ल्याएको थियो । त्यसको १३ दिन पछि पुनः मोन्था चक्रवातको प्रभावका कारण भएको वर्षासँगै सडक भासिन र दबिने समस्याले पट- पटक अवरोध भएको थियो ।
सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले सडक सामान्य मर्मतपछि साना साधनका लागि खुल्ला गरिए पनि जोखिम यथावत् रहेकाले सावधानी अपनाएर हिँड्न यात्रु र चालकलाई आग्रह गरेका छन् ।
सडक पूर्ण रूपमा सञ्चालन हुन भने समय लाग्ने बताइएको छ । मेची राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको सिमलगोलाई तिल्केनी सडक खण्डमा निर्बाध रूपमा सवारी सञ्चालन हुन सकिरहेका छैनन् ।
