सीमा क्षेत्रमा ‘डग स्नाइपिड’ अप्रेसन सुरु

कात्तिक महिनामा मात्र डेढ दर्जन लागूऔषधका कारोबारी पक्राउ परेका छन् ।

कार्तिक १६, २०८२

एलिना राई

Operation 'Dog Snipe' begins in border areas

धरान — कोशी प्रदेशमा पछिल्लो समय लागू औषधको अवैध कारोबार बढ्दै गएको छ । स्थानीय युवामाझ ब्राउन सुगरजस्ता प्रतिबन्धित लागूऔषधको प्रयोग र ओसारप्रसारमा संलग्नता देखिन थालेपछि सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रमा बढ्दो लागू औषध नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान चलाएको छ ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार राति विशेष सूचनाका आधारमा गरेको अप्रेसनमा दुई जना युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लौकहीतर्फबाट आउँदै गरेको को.३ प. ६६२३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर बरामद गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशील श्रेष्ठ र २७ वर्षका अहिस ताम्रकार  रहेका छन् । उनीहरूबाट कालो प्लास्टिकमा पोका पारिएको ५.८५ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

पछिल्लो समयमा प्रहरी कार्यालयले लागू औषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै दैनिक रूपमा अप्रेसन सञ्चालन गरिरहेको छ । सीमाक्षेत्र हुँदै लगातार अवैध रूपमा लागू औषध भित्रिन थालेपछि नियन्त्रणमा कडाइ गर्न सुनसरीको सीमावर्ती क्षेत्रमा छठ सकिएलगतै लागू औषध ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहितको ‘डग स्नाइपिड’ अप्रेसन सुरु गरिएको थियो। लागूऔषध ओसारपसार नियन्त्रण गर्न नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ सहितको विशेष प्रहरी टोली परिचालन गरेको डीएसपी खतिवडाले बताए ।

प्रहरीले यसअघि पनि धरान, इटहरी, लौकही, दुहवी लगायतका क्षेत्रमा व्यापक चेकजाँच र निगरानी बढाएको थियो । प्रहरीले कात्तिक महिनामा मात्र डेढ दर्जन लागूऔषध कारोबारीलाई पक्राउ गरिसकेको डीएसपी खतिवडाले बताए ।

स्थानीयवासीले लागू औषधका कारण युवामाझ बढ्दै गएको अपराध र सामाजिक विचलनप्रति चिन्ता व्यक्त गरेका छन् । स्थानीय बासिन्दाले प्रहरीले जति अप्रेसन गरेर कारोबारी पक्राउ गरे पनि परिवार र समाजले पनि सचेतता नबढाए यो समस्या अझै विकृतिका रुपमा फैलिने चिन्ता व्यक्त गरेका छन् ।

प्रहरीले पक्राउ परेका अभियुक्तलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान अघि बढाएको जनाएको छ । सुनसरीमा मात्र होइन, समग्र कोशी प्रदेशमा लागू औषध नियन्त्रणको यो अप्रेसन अब निरन्तर अभियानमा रूपान्तरण हुने प्रहरीको भनाइ छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully