अविरल वर्षाले अवरुद्ध सडक खुलाउन सकस

अविरल वर्षाका कारण बाढीपहिरोले मेची, मध्यपहाडी, तमोर कोरिडोर, फिदिम-फालोट र राँके-रवि-भेडेटार सडक अवरुद्ध तीन दिनदेखि अवरुद्ध बनेका छन्।

कार्तिक १६, २०८२

लक्ष्मी गौतम

Efforts to clear roads blocked by incessant rain

पाँचथर — अविरल वर्षाका कारण अवरुद्ध पूर्वका पाँच सडक अझै सञ्चालनमा आउन सकेका छैनन्। नावा खोलामा आएको बाढीले क्षति पुर्‍याउँदा शुक्रवार बिहानैदेखि अवरुद्ध तमोर कोरिडोरको अवरोध हटाउन सकिएको छैन भने फेमे खोलाको बाढीले डाइभर्सन बगाएको फिदिम-फालौट सडक खण्ड अझै बन्द नै छ।

यहाँ अझैसम्म वर्षा रोकिएको छैन। जसकारण सडक खुलाउन नसकिएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै, तीन दिनदेखि अवरुद्ध राँके-रवि-भेडेटार सडक खण्डका ठाउँ-ठाउँमा पहिरो खसेको छ। मध्यपहाडी राजमार्गको तेह्रथुम खण्डमा पहिरो जाँदा आइबार बिहानैदेखि यो सडक पनि अवरुद्ध भएको छ । यो सडक खण्डमा भएको अवरोध भने पन्छाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यस्तै, मेची राजमार्गको राजदुवाली खण्डको अवरोध पनि यथावत् छ । अघिल्लो दिन सडक डिभिजन कार्यालय इलामले साना सवारी साधन सञ्चालन हुने अवस्थामा पुर्‍याएको यो सडक पुन:राति भाँसिएका कारण यातायात र ढुवानीका साधन सञ्चालनमा आउन सकेका छैनन् ।

यहाँको क्षतिको अवस्थाबारे बुझ्न प्राविधिक टोली त्यसतर्फ खटाइएकाले अर्को सूचना नभएसम्म यो सडक भएर यात्रा तय नगर्न यात्रुलाई आह्वान गरिएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully