तीन दिनदेखि हराइरहेका शर्माको शव बिरिङ खोला किनारमा फेला

बिहीबार चारआली जंगल क्षेत्रमा जलेको अवस्थामा कार फेला परेपछि प्रहरीले अनुसन्धानलाई तीव्र पारेको थियो ।

कार्तिक १५, २०८२

नवराज सुवेदी

Body of Sharma, missing for three days, found on the banks of Biring River

झापा — शिवसताक्षी नगरपालिका-१० माइधारका सरोज शर्माको शव शनिबार बिहान बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा फेला परेको छ । झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाको बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनी शर्माको शव फेला परेको हो । 

दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। दुर्गन्ध फैलिएको ठाउँमा खोजतलास गर्दा बालुवामा गाडेको शव भेटिएको र उक्त शव तीन दिनदेखि हराइरहेका शर्मा भएको प्रहरीले जनाएको छ । हत्यापछि प्लास्टिकमा बाँधेर शव गाडेको प्रहरीले जनाएको छ । 

शर्माको खोजी क्रममा प्रहरीले गत बिहीबार चारआली जंगल क्षेत्रमा जलेको अवस्थामा कार बरामद गरेको थियो । सोही गाडी शर्मा परिवारकै भएको पत्ता लागेपछि प्रहरीले अनुसन्धानलाई तीव्र पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूका अनुसार उक्त घटनामा संलग्न भएको आशंकामा शिवसताक्षी–१० माईधार निवासी २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाहलाई पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत दुस्मनीका कारण हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पठाएको छ । 

नवराज सुवेदी

Link copied successfully