उदयपुरमा सडक र विद्युत् सेवा अवरुद्ध

अविरल वर्षापछि उदयपुरका विभिन्न स्थानमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध बनेको हो ।

कार्तिक १४, २०८२

राकेश नेपाली

Road and electricity services disrupted in Udayapur

उदयपुर — बिहीबारदेखि परेको अविरल वर्षाका कारण उदयपुरका विभिन्न स्थानमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध बनेको छ ।

लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाका विभिन्न स्थानमा पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको छ भने सडक सञ्जालमासमेत क्षति पुगेको छ ।

अविरल वर्षाका कारण बेतेनी माझखर्क सडक, नुनथला–रुपाटार–ठानागाउँ सडक, बेतेनी–सोरुङ राम्चे, पुँवारे–डिल्लीबर–माझखर्क सडक, भुट्टार–पुवाँरे सडक, बाराहा–राँकुला–ठानागाउँ सडक लगायतका सडकमा क्षति पुगेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले बताए ।

‘अविरल वर्षाले धेरै ठाउँमा सडक बिगारेको छ, आशिंक रुपमा मात्रै सवारी सञ्चालन भइरहेको छ, वर्षा सकिएपछि मर्मत सुरु गर्नेछौं,’ उनले भने । वर्षाकै कारण लिम्चुङबुङ गाउँपालिकाको ताम्लिक्षा, बलम्ता, जाँते, बाFसबोटे, ताप्ली गाउँपालिकाको ओख्ले, लेखगाउँ, ईनामे हुँदै वडा कार्यालय र पालिका केन्द्र जोड्ने सडकमासमेत क्षाति पुगेर सडक अवरुद्ध बनेको छ ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार पोखरी, आँपटार, रसुवा, नामेटार, भुट्टारका वडा कार्यालय हुँदै पालिका केन्द्र जोड्ने सडक बिग्रिएर सवारी आवागन बन्द भएको छ । चाँडै मर्मतको काम सुरु गरिने उनले बताए । 

Road and electricity services disrupted in Udayapur

वर्षाकै कारण पोल ढलेपछि लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका विभिन्न स्थानमा बिहीबारदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । ‘पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध बनेको छ, भोलिबाट मर्मत सुरु हुनेछ,’ लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले भने । विद्युत् नहुँदा टेलिफोन टावरमासमेत असर पुगेकाले सञ्चार सेवा आशिंक रुपमा अवरुद्ध बनेको ताप्ली गाउँपालिका–५ रुपाटारका वडाध्यक्ष विष्णु श्रेष्ठले बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully