पहिरोले चारखोलेमा क्षति, ठूला यातायातका साधनमा रोक

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बाटो खुलाउन समन्वय र प्रयास भैरहेकाले अति आवश्यक कामबाहेक यात्रा नगर्नु र आवश्यक सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।

कार्तिक १४, २०८२

रमेशचन्द्र अधिकारी

Landslide damages Charkhole, bans heavy transport vehicles

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित चारखोले गोलाइमा पहिरोले सडक क्षतिग्रस्त भएको छ । त्यहां करिब २० मिटर सडक भासिएर पहिरोसँगै झरेको छ । अबिरल वर्षा जारी रहेकाले सडकमा बस र ट्रकजस्ता ठूला यातायात र ढुवानीका साधन संचालनमा रोक लगाएको प्रहरीले जनाएको छ ।

उक्त  सडक भएर धनकुटासहित तेह्रथुम, संखुवासभा, भोजपुर र खोटाङ लगायत जिल्लामा सवारी र ढुवानीका साधन आवतजावत गर्छन् । सडक भासिएको स्थानमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी निरीक्षक महेश भट्टराईको  कमाण्डमा ७ जनाको टोली खटाइएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बाटो खुलाउन समन्वय र प्रयास भैरहेकाले अति आवश्यक कामबाहेक यात्रा नगर्नु र आवश्यक सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully