पाँचथरलाई तराइका झापा, मोरङ र सुनसरीसँगै छिमेकी जिल्लासँग जोडिने मुख्य सडक अवरुद्व हुँदा जनजीवन प्रभावित भएको छ ।
What you should know
पाँचथर — बिहीबारदेखिकाे निरन्तर वर्षापछि बाढी र पहिरो आउँदा पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य चार वटा सडक अवरुद्व भएका छन् ।
पाँचथरलाई तराइका झापा, मोरङ र सुनसरीसँगै छिमेकी जिल्लासँग जोडिने मुख्य सडक अवरुद्व हुँदा जनजीवन प्रभावित भएको छ ।
सदरमुकाम फिदिमलाई फालेलुङ गाउँपालिका हुँदै छिमेकी मुलुक भारतको पश्चिम बगालसम्म जोड्ने फिदिम–फालौट सडक खण्ड बिहीबार रातिदेखि अवरुद्व छ ।
फिदिम–१ र ११ लाई सिमाना छुट्याएर बग्ने फेमे खोलामा आएको बाढीले त्यहाँ बनाइएको डाइभर्सन किनारको भाग कटान गरेपछि यो सडक अवरुद्व भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । बाढी आएपछि यो सडकमा सवारी आवागमन गर्न रोक लगाइएको छ ।
यस्तै मध्य पहाडी राजमार्गमा पर्ने याङवरक गाउँपालिकाको रिजाल भीरमा खसेको पहिरोले यो सडक अवरुद्व रहेको जिल्ला प्रहरी पाँचथरले जनाएको छ । उता ठाउँठाउँमा पहिरो खस्नुका साथै सडक भासिदा मेची राजमार्गमा सवारीसाधन सञ्चालन हुन सकेको छैन ।
यो खण्डको राजदुवाली क्षेत्रमा गत असोज १७ र १८ गतेको झरीका कारण पहिरो गएपछि खोलिएको नयाँ ट्रयाक भासिने क्रम बढिरहेको छ भने वैकल्पिक रुपमा खोलिएको तिल्केनी सिमलगोलाई सडकमा समेत ठाउँठाउँमा पहिरो गएको जिल्ला प्रशासन इलामले जनाएको छ । बाढी र पहिरोकाे जोखिम बढेका कारण इलाम प्रशासनले बिहीबार साँझदेखि यो सडकमा सवारी आवागमनमा रोक लगाएको छ ।
रातभरको पानीले सडकमा क्षति पुगेपछि सडकमा सवारी आवागमनमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । यस्तै सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर पनि बाढीका कारण अवरुद्व भएको छ । तमोर करिडोर अन्तरगत पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा पानीको बहाव वढेका कारण सवारी आवागमन ठप्प भएको छ ।
