४ हजार मिटरमाथिका हिमाली क्षेत्रमा पदयात्रा नगर्न संखुवासभा प्रशासनको आग्रह

मकालु आधार शिविर क्षेत्रमा करिब ७० विदेशी पर्यटक र ६० नेपाली पर्यटक छन् ।

कार्तिक १३, २०८२

दीपेन्द्र शाक्य

Sankhuwasabha administration urges people not to trek in mountainous areas above 4,000 meters

What you should know

संखुवासभा — लगातारको वर्षा र उच्च हिमाली भेगमा भइरहेको हिमपातका कारण जिल्ला प्रशासन कार्यालय संखुवासभाले ४ हजार मिटरभन्दा माथिका हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेकाे छ । 

बिहीबार प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाद्वारा जारी सूचनामा अत्यधिक हिमपात र चिसो बढेको हुँदा मकालु आधार शिविरलगायत उत्तरी हिमाली क्षेत्रतर्फको पदयात्रा नगर्न उल्लेख छ । हिमपातका कारण उत्तरी क्षेत्रमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन सक्ने उनले बताइन् । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म वर्षा र हिमपात जारी रहने सम्भावना रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले विशेष सावधानी अपनाउन निर्देशन दिएको हो ।

यसैबीच, मकालु प्रहरी चौकी सेदुवाका प्रहरीहरूले विदेशी र स्वदेशी पर्यटकलाई मौसमी जानकारी दिँदै सचेत गराउँदै आएका छन् । पर्यटकलाई बाटोघाटो, होटल र सुरक्षा व्यवस्थाबारे पनि निरन्तर जानकारी दिइँदै आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीले बताए ।  

उनका अनुसार हाल मकालु आधार शिविर क्षेत्रमा करिब ७० विदेशी पर्यटक र ६० नेपाली पर्यटक छन् ।'प्रहरीले तुम्लिङटार विमानस्थल, नुम र सेदुवामा मौसमी सचेतना अभियान सञ्चालन गरिरहेको छ,' डीएसपी मैनालीले भने, 'हामीले पर्यटकलाई मौसम, बाटो र जोखिमबारे प्रत्यक्ष जानकारी दिँदै आएका छाैं ।'

जिल्ला प्रशासन कार्यालयका अनुसार लगातारको वर्षाले पहिरो जाने, सडक अवरुद्ध हुने तथा जनजीवन प्रभावित हुने खतरा बढेको छ। त्यसैले अत्यावश्यक काम बाहेक अनावश्यक यात्राबाट बच्न सबै नागरिकलाई आग्रह गरिएको छ। 

प्रशासनले पहिरोको जोखिम देखिएका क्षेत्रका स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्न समेत स्थानीय तहलाई आग्रह गरेको छ । 

संखुवासभा प्रशासनले नागरिकहरूलाई मौसम जानकारी नियमित सुन्न, नदी किनार, पहिरो सम्भावित स्थान तथा हिमाली क्षेत्र नजिकका बाटोहरूमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दीपेन्द्र शाक्य

Link copied successfully