मोटरसाइकलसँग ठोक्किँदा जिप दुर्घटना, १० जना घाइते

मेची राजमार्गको देउमाइ–१, कुखुरेमा बोलेरो र दुई मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन्, एकको अवस्था गम्भीर छ, चालक नियन्त्रणमा छन्।

कार्तिक १३, २०८२

लक्ष्मी गौतम

Jeep collides with motorcycle, 10 injured

पाँचथर — तेह्रथुमको आठराईबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको जिप र इलामबाट पाँचथरतर्फ आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

मे १ ज ३१३७ नम्बरको बोलेरो र प्रदेश १–०१–०१६ प १३६७ नम्बरको २ मोटरसाइकल मेची राजमार्गअन्तर्गत इलामको देउमाइ नगरपालिका–१, कुखुरे भन्ने स्थानमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुर्घटनामा झापाको बिर्तामोड नगरपालिका–६ गरामुनीकी ३० वर्षीया सुशीला तिमल्सिना, तेह्रथुम आठराई–१ का ६५ वर्षीय छविलाल गुरुङ, ३० वर्षीय प्रकाश शेर्पा, ताप्लेजुङ आठराई त्रिवेणी–१ निगुरादिनकी ६४ वर्षीया डम्मरकुमारी गुरुङ, ३० वर्षीया इन्द्र गुरुङ, २८ वर्षीया अञ्जना गुरुङ, धनकुटाकी ३२ वर्षीया सुष्मा लिम्बू, पाँचथर फालेलुङ–६ सिदिनकी २३ वर्षीया असिना तामाङ, झापा बुद्धशान्ति–४ जयपुरकी २७ वर्षीया चन्द्रकला कालिकोटे र मोटरसाइकल चालक पाँचथर हिलिहाङ–६ का ३६ वर्षीय लक्ष्मीप्रसाद मैनाली घाइते भएका हुन् ।

इलाम प्रहरीका अनुसार, घाइतेमध्ये सुशीला तिमल्सिनाको अवस्था जटिल रहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य छ ।

दुर्घटनापछि जिप चालक तेह्रथुम आठराईका रविन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । तामाङ पनि दुर्घटनामा घाइते भएका छन् । साँघुरो सडकमा भेटिएका बोलेरो र मोटरसाइकल आपसमा ठोक्किएपछि जिप सडकबाट डिलमुनी खसेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully