मेची राजमार्ग ११ घण्टा बन्द हुने 

जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्म सवारी र ढुवानीका साधन सञ्चालनमा रोक लगाउने जनाएको हो ।

कार्तिक १२, २०८२

लक्ष्मी गौतम

Mechi Highway to be closed for 11 hours

पाँचथर — मेची राजमार्गको इलाम खण्डमा ११ घण्टाका लागि सवारी र ढुवानीका साधन सञ्चालनमा रोक  लगाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्म सवारी र ढुवानीका साधन सञ्चालनमा रोक लगाउने जनाएको हो । मध्य दसैंको भारी वर्षापछि आएको पहिरोका कारण मेची राजमार्गको इलाम खण्डका विभिन्न स्थान जोखिमयुक्त रहेकाले तोकिएको अवधिमा सवारी आवागमनमा रोक लगाइएको इलाम प्रशासनले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग र विपद जोखिम न्यूनीकरण प्राधिधिकरणले समेत पश्चिम बंगालमा विकसित चक्रवत (मोन्था) का कारण नेपालमा पनि मौसम प्रभावित हुने देखिएकाले अत्याधिक वर्षाका कारण राजमार्गमा हुनसक्ने दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गराइएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंद्वारा जारी सूचनामा भनिएको छ ।

असोज १८ र १९ गते  भएको भारी वर्षापछि गएको पहिरोका कारण मेची राजमार्गको इलाम खण्डअन्तर्गत राजदुवाली खण्ड १४ दिनसम्म अवरुद्ध भएको थियो । सुर्योदय, देउमाइ र इलाम नगरपालिकाका विभिन्न स्थानमा दर्जनौं पहिरो गएका थिए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully