सुनसरी, मोरङ र झापा जिल्लामा पछिल्ला महिनामा बालिका बेपत्ता हुने घटना बढिरहेको प्रहरीले जनाएको छ ।
विराटनगर — मोरङको केराबारी–३, रामपुरकी १४ वर्षीया रुका मगर भाइटीकाको दिनदेखि सम्पर्कविहीन छिन् । परिवारका अनुसार उनले घरमा कसैलाई जानकारी नदिई निस्किएकी थिइन् । आमा लीला माया मगर भन्छिन्, ‘भाइटीकाकै दिन घरबाट निस्किएकी छोरी अझैसम्म फर्किएकी छैन ।’
लक्ष्मीपूजाको साँझ सबैतिर उज्यालोले घरहरू चम्किएका थिए, तर सुनसरी इनरुवा–५ बलाहास्थित पाण्डे परिवारको घरमा अन्धकार पस्यो । १५ वर्षीया भावना पाण्डे भैलो खेल्न भन्दै निस्किएकी थिइन् । त्यस दिनदेखि उनी अझैसम्म घर फर्किएकी छैनन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेका अनुसार बेपत्ता किशोरीको खोजी तीव्र पारिएको छ । ‘नेपाल र भारत दुवैतिर खोजिरहेका छौं,’ उनले भने, ‘केही दिनमा पत्ता लाग्ने विश्वास छ ।’
एक साताअघि मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेकी १४ वर्षीया आयुषा धिमाल हराएकी थिइन् । मामाघर कानेपोखरी–५, दुम्रीघाटबाट दिउँसो हिँडेकी उनी साँझसम्म घर फर्किनन् । तर शनिबार प्रहरीको टोलीले उनलाई विराटनगर बरगाछीस्थित एक होटलबाट उद्धार गरेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जनाए । ‘होटलमा फेला पारी अभिभावकको जिम्मा लगाइएको छ,’ उनले भने ।
त्यसअघि २१ असोजमा मोरङकै लेटाङ–२ की १३ वर्षीया अंशु गौतम हराएकी थिइन् । पिङ खेल्न भनी घरबाट निस्किएकी उनी हराएको दुई सातापछि शुक्रबार बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत अवस्थामा फेला परिन् ।
स्थानीय महिलाले घाँस काट्ने क्रममा क्षतविक्षत शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउको र शरीर छुट्टिएको, कपडा च्यातिएको अवस्थामा शव फेला परेको थियो । परिवारले कपडा, चप्पल र घडीका आधारमा शव पहिचान गरेका थिए ।
प्रहरीले शवको आधिकारिकता प्रमाणित गर्न डीएनए परीक्षण र मृत्युको कारण पत्ता लगाउन फरेन्सिक जाँचका लागि पठाएको छ । ‘रिपोर्टपछि सत्यतथ्य बाहिर आउनेछ,’ एसपी कटुवालले भने,‘अनुसन्धान जारी छ । चाँडै सत्यतथ्य सार्वजनिक गर्नेछौँ ।’
सुनसरी, मोरङ र झापा जिल्लामा पछिल्ला महिनाहरूमा बालिका बेपत्ता हुने घटना बढिरहेको प्रहरीले जनाएको छ । प्रहरी तथ्यांकअनुसार, हराउने अधिकांश किशोरीहरू नै छन् ।
सामाजिक सञ्जाल र मोबाइलको प्रयोग नै घटनाका मुख्य कारण भएको प्रहरीको दाबी छ । फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता माध्यमबाट अपरिचितसँग प्रेम, लोभलालच र प्रलोभनमा पर्ने क्रम बढेको छ । यही कारण कतिपय घटनामा बलात्कार र हत्यासमेतका घटना भएका छन् ।
किशोरीहरूको बढ्दो बेपत्ताका घटनामा अभिभावक, विद्यालय र समुदाय सबैका लागि गम्भीर प्रश्न खडा गरेको छ । विशेषगरी सामाजिक सञ्जालको निगरानी, परिवारभित्र संवादको अभाव र सुरक्षा सचेतनाको कमीले बालिकाहरू असुरक्षित बन्दै गएको प्रहरीको भनाइ छ ।
