जंगलमा घाँस काट्न गएका स्थानीय महिलाले दिउँसो बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
काठमाडौँ — दुई सातादेखि हराइरहेकी उत्तरी मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको शव शुक्रबार जंगलभित्र भेटिएको छ ।
मृतकको शव चिन्न सक्ने अवस्था थिएन । तर, घटनास्थलमा भेटिएको चप्पल, कपडा र घडीका आधारमा शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जनाए ।
बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको शव अत्यन्तै विभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
लेटाङ नगरपालिका–२ स्कुलचोककी अंशुको टाउको र शरीर छुट्टिएको अवस्थामा शव भेटिँदा, परिवारजन मात्रै हैन, सिंगो गाउँले नै स्तब्ध बनेका छन् । घाँस काट्न गएका स्थानीय महिलाले दिउँसो करिब साढे १ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, दुर्गन्धित बन्दै गएको शवको अवस्था विभत्स थियो । कपडा च्यातिएको, टाउको र शरीर छुट्टिएको अवस्था थियो । 'बलात्कारपछि हत्या गरिएको हो या जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो भन्ने पत्ता लगाउन फरेन्सिक जाँचको रिपोर्टबाट मात्रै भन्न सकिन्छ', एसपी कटुवालले भने,'सत्यतथ्य चाँडै पत्ता लाग्छ ।'
अंशु असोज २१ गते दिउँसो साढे ४ बजे पिङ खेल्न भनी घरबाट हिँडेकी थिइन् । बालिका त्यसपछि सम्पर्कविहीन थिइन् ।
लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार स्थानीय लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की विद्यार्थीका उनको परिवार अत्यन्तै विपन्न छ ।
शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ ।
