प्रहरीलाई अपमानजनक व्यवहार गर्दै सार्वजनिक स्थानमा हुलदंगा मच्चाउने ४ जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको छ ।
संखुवासभा — संखुवासभाको चैनपुर नगरपालिका–३ मा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये चन्द्रबहादुर आले मगर, पूर्णबहादुर आले मगर, तेजबहादुर आले मगर र दाछिरी शेर्पा रहेका छन्।
बिहीबार राति चैनपुर–३ स्थित मगर गाउँमा केही व्यक्तिहरू मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिद्धपोखरीबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर बरालको नेतृत्वमा टोली खटिएको थियो।
प्रहरी टोलीले ती व्यक्तिहरूलाई सम्झाउने प्रयास गर्दा उनीहरूले उल्टै प्रहरीमाथि अभद्र व्यवहार र असहयोग गरेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी निरीक्षक रामकुमार लामिछानेले नियन्त्रणमा लिइएका ती व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको बताए।
संखुवासभा प्रहरी प्रमुख डिएसपी कुमारप्रसाद मैनालीले मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हुलदंगा मच्चाउने, अभद्र व्यवहार प्रदर्शन गर्ने वा प्रहरीमाथि अपमानजनक व्यवहार गर्ने जो कोहीमाथि पनि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।
