ज्यान गुमाउनेहरूमा महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्कामकी १६ वर्षीया हवी राई, २० वर्षीया शान्ति राई र १७ वर्षीया निर्जला राई रहेका छन् ।
सोलुखुम्बु — सोलुखुम्बुमा बिहीबार साँझ जिप दुर्घटना हुँदा ज्यान गुमाएका ३ जनाको सनाखत भएको छ । जिल्लाको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङका यात्रु बोकेर हिँडेको जिप माप्य दूधकोशी गाउँपालिका-६ भिरकुनाबाट खसेको थियो ।
प्रदेश नम्बर १-०३१ च ५९२५ नम्बरको जिप भिरकुनामा पुगेपछि ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको चालक श्रीध्वज राईलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।
गाडीमा सवार ११ जना यात्रुमध्ये चालकसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्कामकी १६ वर्षीया हवी राई, २० वर्षीया शान्ति राई र १७ वर्षीया निर्जला राई रहेका छन् ।
त्यस्तै घाइते हुनेहरूमा महाकुलुङ ३ का ३२ वर्षीय श्रीध्वज राई, ४ की १६ वर्षीया गंगा राई, १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया समया राई र सजना राई र १० वर्षीय उमेश राई रहेका छन् । कार्यालयका अनुसार घाइतेहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने मृतकहरूको शव महाकुलुङ अस्पताल पठाइएको छ ।
