पाँचथरमा यो वर्ष किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र नेपाल मगर संघजस्ता संघसंस्थाले मौलिक पहिरन र बाजागाजामा देउसी खेलेका छन् ।
What you should know
पाँचथर — सांस्कृतिक विविधता रहेको पाँचथरमा जिल्लाका सबैजसो जातजाती र भाषाभाषीले विभिन्न कार्यक्रम गरी तिहार मनाएका छन् । देउसी टोली प्रायः सांस्कृतिक भेषभुषासँगै मौलिक बाजागाजामा सजिएका भेटिन्थे ।
यहाँका देउसी टोलीमध्ये धेरैको साझा अभिप्राय संस्कृति संरक्षण नै हो । यद्यपि यस वर्षको देउसी-भैलोमा संस्कृतिको संरक्षण, मौलिकताको जगेर्ना, सामाजिक गतिविधि सञ्चालनदेखि हालैको बाढीपहिरोपीडितलाई सहयोग गर्ने उद्देश्यकेन्द्रित देखिन्छन् । अनि देउसी भैलोका गीतमा दिदीभाइको स्नेह र प्रेमको गाथासँगै बाढी पहिरोपीडितका गाथा समेटिएका छन् ।
मौलिक भेषभुषामा सजिएर, केलाङ, माङलाङ …र यालाङजस्ता आआफ्ना मौलिक नृत्यसहित पूर्वी पहाडी जिल्ला पाँचथरका आदिवासी जनजातिले तिहार मनाएका छन् । पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बूसँगै यहाँका तामाङ, मगर, राईसहित सम्पूर्ण जातजातीले खेलेका द्यौसीमा मौलिकपना देख्न सकिन्थ्यो । उनीहरुको नृत्यसँगै भट्याउने र आशिक दिने पनि मौलिक थिए ।
किरात लिम्बू जातिले पाँचथर, तेह्रथुम, ताप्लेजुङ र धनकुटामा लक्ष्मी पूजाका दिन दीपावली गरेपछि तिहारलाई बलिहाङ तङनामका रुपमा मनाउँदै आएका छन् । यो पर्वमा मगरले हुर्रा, राईले चण्डी, तामाङले डम्फु र गुरुङले सोरठी नृत्यसहित द्यौसी खेलेका दृश्य निकै नै रोचक हुन्छन् ।
पछिल्लो समय पश्चिमा संस्कृतिको पिछा गर्दै युवापुस्ताले मौलिक पहिरन र संस्कृति बिर्सँदै गएका बेला यस वर्षको तिहारमा पाँचथरमा देखिएको यो उल्लासले हराँउदै गएको संस्कृतिको पुनरोत्थान होला कि ? भन्ने आशा पलाएको अगुवाहरु बताउँछन् ।
पाँचथरमा यो वर्ष किरात राई यायोक्खा,किरात याक्थुङ चुम्लुङ र नेपाल मगर संघजस्ता संघ संस्थाले मौलिक पहिरन र बाजागाजामा देउसी खेलेका छन् ।
चुम्लुङले मौलिकता संरक्षणसहित संस्थाको अक्षयकोषमा रकम जम्मा गर्ने उद्देश्य राखेको उपाध्यक्ष सुवाष तुम्वापोले बताए ।
यस्तै मगर संघले संस्थागत विकाससहित गत असोज १७ र १८ गते गएको बाढी पहिरोपीडितलाई सहयोग गर्ने लक्ष्य राखेको संघका सचिव प्रेम केप्छाकी बताउँछन् ।
यायोक्खाले मौलिकताको जगेर्नासहितको उद्देश्यले देउसी खेलिरहेको अध्यक्ष गणेश साम्पाङले बताए । यो सँगै जिल्लाका सामाजिक संस्था र क्लबहरुले पनि मौलिक बाजागाजा र पहिरनमा देउसी खेलिरहेका छन् । यहाँ तिहार सकिएको तीनदिन पछिसम्म पनि देउसी खेल्ने गरिन्छ ।
