तीन विदेशी आरोहीले रचे इतिहास

नुम्बुर हिमालको सफल आरोहण ।

कार्तिक ५, २०८२

भानुभक्त निरौला

Three foreign climbers create history

सोलुखुम्बु — सोलुखुम्बुको नुम्बुर हिमाल तीन विदेशी आरोहीले पहिलो पटक सफलतापूर्वक आरोहण गरेका छन् । समुन्द्र सतहबाट ६ हजार ९ सय ५८ मिटरको उचाइमा रहेको हिमालको सेभेन समिट ट्रेकका आरोहीले १५ घण्टा लगाएर सफलतापूर्वक आरोहण गरेका हुन् ।

आइतबार बिहान साढे १० बजे नुम्बुर हिमालमा मानव पाइला सफलतापूर्वक पुगेको हो । पर्यटन विभागले अघिल्लो वर्ष आरोहण खुलाएसँगै आइतबार बिहान इटालियन नागरिक हर्भ, जर्मन नागरिक फेलिक्स र पोल्याण्डका आडमले संयुक्त रूपमा आरोहण गरेका हुन् । 

यो सफलतासँगै नुम्बुर हिमाल चढ्ने आरोहीको इतिहाँस पनि तीन आरोहीले रचेको पर्यटन व्यवसायी फुछिरी शेर्पाले बताए ।

सोलुदुधकुण्ड नगरपालिकाको पहलमा पर्यटन विभागले आरोहण खुला गरेसँगै यो सिजनमा आरोही टोलीले सफलता हासिल गरेको हो । हिमालको सफलतापूर्वक आरोहण गरेपछि वडाध्यक्ष छोङ्बा शेर्पा, दुधकुण्ड सामुदायिक वनका अध्यक्ष ङति शेर्पा, अन्तर्राष्ट्रिय धावक दाछिरी दावा शेर्पा र पर्यटन व्यवसायी फुछिरी शेर्पाले संयुक्त रुपमा स्वागत गरेका थिए । 

सोलुदुधकुण्ड नगरपालिका-१ मा अवस्थित नुम्बुर हिमाल दुधकुण्ड तालको शिर पनि हो । नुम्बुर आरोहण सफल भएसँगै पर्यटनमा नयाँ ढोका खोलिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए ।

भानुभक्त निरौला

Link copied successfully