बच्चा नचलेपछि अवस्था जटिल देखिएपछि तामाङलाई सेनाको हेलिकप्टरमार्फत विराटनगर कोशी अस्पताल पुर्याइएको छ ।
संखुवासभा — मकालु गाउँपालिका–३ की गर्भवती २९ वर्षीया सीता तामाङलाई समस्या भएपछि सोमबार बिहान हवाईमार्फत विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको छ ।
तामाङ आइतबार बेलुका करिब ७ बजे पाथीभरा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा बच्चा नचलेको कारण उपचारका लागि पुगेकी थिइन् । स्वास्थ्यकर्मीले अवस्था जटिल भएको बताएपछि तत्काल उद्धारको पहल गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार तामाङलाई सोमबार बिहान करिब ९ बजे मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरी विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको हो । उनलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।
