‘जेन-जी हुँ’ भन्दै धम्काएको भन्दै पालिका अध्यक्षले दिए उजुरी

त्रियुगा नगरपालिका–१५ स्थित सिद्धवती माविमा कार्यरत शिक्षक युवराज कार्कीले ‘जेन-जी हुँ’ भन्दै धम्काएको भन्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले उजुरी दिएका हुन् ।

कार्तिक ३, २०८२

राकेश नेपाली

Municipal chairman files complaint against threats made by saying 'I am a Gen-G'

उदयपुर — उदयपुरका एक शिक्षकले ‘जेन-जी हुँ’ भन्दै धम्क्याएको भन्दै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले त्रियुगा नगरपालिका र उदयपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

त्रियुगा नगरपालिका–१५ स्थित सिद्धवती माविमा कार्यरत शिक्षक युवराज कार्कीले ‘जेन-जी हुँ’ भन्दै धम्काएको भन्दै अध्यक्ष राईले नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा कार्कीलाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । 

आफूलाई जेन-जी बताउने शिक्षक कार्कीले फोनमा कुट्छु, पिट्छु र ज्यानै मार्छु भनेर धम्की दिएको पालिका अध्यक्ष राईले बताए । ‘कार्कीले राति फोन गरेर एक्कासि तँलाई जहाँ भेट्यो त्यहीँ कुट्छु भन्दै गालीगलौज र अपशब्द प्रयोग गरे,’ अध्यक्ष राईले भने, ‘कुट्ने र मार्नेसम्मको धम्की दिएपछि मैले प्रशासनमा उजुरी दिएको हुँ ।’

उनले पालिकाको लेटरप्याड नै प्रयोग गरेर शिक्षक कार्कीलाई कारबाही गर्न प्रशासनलाई अनुरोध गरेका छन् । यता कार्कीले दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ पंचमी बजारमा रहेको नागरिक आरोग्य सेवा केन्द्रका आयुर्वेद वैद्य पदमा कार्यरत एक कर्मचारीलाई हटाएर आफ्नो मान्छे नियुक्ति गर्न लागेको थाहा पाएपछि अध्यक्षलाई त्यसो नगर्न सुझाव दिएको तर पालिका अध्यक्षले विषयान्तर गरेर पालिकाको लेटरप्याड दुरुपयोग गरेर कारबाहीको धम्की दिएको बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully