संखुवासभाको एक होटलमा कौडा र तास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरी प्रहरीले १ लाख ७२ हजार ९ सय ३५ रुपैयाँसहित बरामद गरेको छ।
संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्कस्थित खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान विशेष सूचनाको आधारमा होटलमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार जितबहादुर राईले सञ्चालन गर्दै आएको उक्त होटलमा कौडा र तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । घटनास्थलबाट प्रहरीले कौडा १६ वटा, तास ४ बुक र नगद १ लाख ७२ हजार ९ सय ३५ रुपैयाँ बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पक्राउ परेकाहरूमाथि जुवा ऐनअनुसार कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले यसअघि पनि तिहारलगायत चाडपर्वका समयमा जुवा तासमा संलग्न हुनेहरू विरुद्ध निगरानी बढाएको जनाएको छ । खाँदबारी क्षेत्रका केही होटल, रेस्टुरेन्ट तथा गोप्य स्थानहरूमा जुवा खेलाउने थाहा पाएपछि प्रहरीले निगरानी बढाएको जनाएको छ ।
