झापामा माछालाई थापेको विद्युतीय धरापमा परेर दुई जनाको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा दुर्घटना हुँदा तीन दिनमा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Two people die after being caught in an electric fish trap in Jhapa

झापा — माछा मार्न बिछ्याइएको विद्युतीय धरापमा परेर तीन दिनभित्र झापामा दुई जनाको ज्यान गएको छ । दुई छुट्टा–छुट्टै घटनामा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनीहरूको मृत्यु भएको हो।

पहिलो घटना असोज ३० मा मेचीनगर नगरपालिका–१५, निलकोठीमा भएको हो । स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू आइतबार दिउँसो घर नजिकैको टिमाई नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा एक्कासि करेन्ट लागेर बेहोस भए । उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइए पनि चिकित्सकले पुगेलगत्तै मृत घोषित गरे ।

तेस्रो दिन पुन: झापामै यस्तै प्रकृतिको अर्को घटना भएको छ । कचनकवल गाउँपालिका–२ का ४९ वर्षीय लोकबहादुर गाइने आइतबार दिउँसो अमलखुट्टा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैं करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै घटनामा करेन्टमार्फत माछा मार्ने क्रममा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । मेचीनगर र कचनकवल दुवै स्थानमा प्रहरी टोली खटिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रत्येक वर्ष देशका विभिन्न खोलानालामा माछा मार्ने क्रममा करेन्ट प्रयोग हुँदा मानवीय क्षति हुने क्रम बढ्दो छ । विज्ञहरूका अनुसार यस्तो गैरकानुनी कार्यले पर्यावरणीय असन्तुलन बिगार्दा सिंगो प्राणी जगत्‌कै लागि खतरा बनेको  छ ।

कान्तिपुर

Link copied successfully