स्थानीय युवाहरुले ‘भ्रष्ट जनप्रतिनिधि बहिष्कार गरौं’ भन्ने नारा लगाउँदै मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई लखेटेका हुन् ।
उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणिकादेवी दुलाललाई स्थानीयले लखेटेका छन् ।
आइतबार चौदण्डीगढी नगरपालिका–९ र १० नम्बर वडाले हडियामा आयोजना गरेको तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय युवाहरुले ‘भ्रष्ट जनप्रतिनिधि बहिष्कार गरौं’ भन्ने नारा लगाउँदै मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई लखेटेका हुन् ।
शुभकामना आदानप्रदान कार्यक्रम सुरु हुनासाथ स्थानीय जेन–जी युवाहरुले कार्यक्रम स्थलमा मेयर र उपमेयरलाई भ्रष्ट जनप्रतिनिधि भन्दै नाराबाजी गरेका थिए । उनीहरुले कार्यक्रम स्थलमा टाँसिएको व्यानर, माईक र कुर्सी मिल्काउन थालेपछि मेयर र उपमेयर कार्यक्रम स्थल छाडरे भागेको वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश राउतले बताए ।
चौदण्डीगढी नगरपालिका–१० हडियामा रहेको जनउत्थान कृषि तथा पशु सहकारीले आर्थिक अनियमितता गरेको र सहकारीको अध्यक्ष वडाध्यक्ष धर्मेन्द्र खड्का आफै रहेको आरोप लगाउँदै स्थानीय युवाहरुले ‘भ्रष्ट जनप्रतिनिधि बहिष्कार’को नारा लगाएको स्थानीय नवराज राउतले बताए ।
सहरकारीको अनियमितता, त्रियुगा खोलामा पुल नहुँदा स्थानीयहरुले भोग्नुपरेको समस्या र भ्रष्टचार बेतिथिलगायतका कारण आजित बनेका युवाहरुले जनप्रतिनिधिहरुलाई लखेटेको उनले बताए । कार्यक्रम स्थलमा अवरोध पुर्याएपछि मेयर, उप–मेयर र दुवै वडाका वडाध्यक्ष कार्यक्रम स्थल छाडेर नगरपालिकाको केन्द्र बेल्टारतर्फ लागेका थिए ।
