उदयपुरमा राति ८ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै चाडबाड लक्षित सुरक्षाका कारण राति ८ बजेसम्म मात्रै देउसी-भैलो खेल्न दिने जनाएको हो ।

कार्तिक १, २०८२

राकेश नेपाली

Deusi-Bhailo can only be played in Udayapur until 8 pm.

उदयपुर — यस वर्षको तिहारमा उदयपुरमा राति ८ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै चाडबाड लक्षित सुरक्षाका कारण राति ८ बजेसम्म मात्रै देउसी-भैलो खेल्न दिने जनाएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लम्सालले जिल्लावासी सबैलाई चाडबाडलाई सभ्य, मर्यादित र परम्परागत रूपमा मनाउन आग्रह गरेका छन् । 

तिहार र छठ पर्वको अवसरमा प्रशासनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासनले मद्यपान, जुवा, तास, अनावश्यक भिडभाड, पटाका र अन्य विस्फोटक पदार्थको प्रयोग गर्नसमेत रोक लगाएको छ । 

सार्वजनिक स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा राति ८ बजेसम्म मात्र गर्न र चाडपर्वका समयमा अफवाह नफैलाउन, सामाजिक सञ्जालमा असामाजिक गतिविधि पोस्ट नगर्न र गलत सूचना प्रवाह नगर्न सबैलाई सचेत गराइएको छ ।

प्रशासनले सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्‍याउने, मूल्यवृद्धि, कालोबजारी वा अखाद्य वस्तुको बिक्री वितरण गरे कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ । साथै, युवाहरूलाई मोटरसाइकल समूहमा हुल बाँधेर र्‍याली प्रदर्शन नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully