चौध दिनमा खुल्यो मेची राजमार्गको राजदुवाली खण्डको अवरोध

सडक डिभिजन इलामको निरन्तर प्रयासपछि यो सडक सञ्चालनमा आएको हो ।

कार्तिक १, २०८२

लक्ष्मी गौतम

Blockage on Rajduwali section of Mechi Highway cleared in fourteen days

पाँचथर — पहिरोले क्षतिग्रस्त मेची राजमार्गको राजदुवाली खण्ड शनिबार साँझदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन इलामको निरन्तर प्रयासपछि यो सडक सञ्चालनमा आएको हो । सडक डिभिजनका प्राविधिकसँगै भूगर्भविद् मधुसूदन आचार्यसहितको टोली सडक खुलाउन निरन्तर खटेको थियो ।

असोज १८ देखिको निरन्तरको झरीपश्चात् सडक अवरोध भएको थियो । सडक खुलाउन मानव संशाधन र यन्त्रको प्रयोग गरे पनि जमिनभित्रबाट लेदोसहितको पानी बग्ने, जमिनमा धाँजा फाट्ने र भासिने समस्याले सफल हुन सकेको थिएन ।

प्राविधिक समस्याका बाबजुद निरन्तरको मिहिनेतपछि अवरोध भएको चौधौं दिन सडक पुनः सञ्चालनमा ल्याइएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

उक्त सडकमा शनिबार राति साढे आठबजेदेखि सवारी आवागमन खुला गरिएको छ । राजदुवाली अवरोधको स्थायी समाधानका काम सँगसँगै गरिने उनको भनाइ छ । सडकको मर्मत कार्य सम्पन्न गरिएसँगै ताप्लेजुङ-पाँचथर र इलाम हुँदै झापा तथा झापादेखि इलाम-पाँचथर-ताप्लेजुङका लागि छुटेका सवारी र ढुवानी साधन आवागन सुरु भएको छ ।

यो सडक नखुल्दा केही दिनअघि विकल्पका रुपमा सिमलगोलाई तिल्केनी सडक सञ्चालनमा ल्याइएको थियो । यध्यपि उक्त सडक साँघुरो र कच्ची भएकाले खाद्यान्न र इन्धन बोकेका ढुवानी साधनलगायत सञ्चालनमा कठिनाइ भइरहेको थियो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully