फिदिमदेखि फालौटसम्म पुग्ने उक्त सडकको मुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि असोज १८ देखि यातायात र ढुवानी सेवा ठप्प बनेको थियो ।
पाँचथर — बाढीका कारण अवरुद्ध फिदिम-फालौट सडकखण्ड अन्तर्गत मुवा खोलामा डाइभर्सन निर्माण गरिएको छ । फालेलुङ गाउँपालिकाले यहाँ डाइभर्सन निर्माण गरेको हो ।
पाँचथरको सदरमुकाम फिदिमदेखि नाङ्गिन याङनाम सिदिन हुँदै भारतको वेस्ट बङ्गालसँग सिमाना जोड्ने फालौटसम्म पुग्ने उक्त सडक खण्डको मुवा खोलाको डाइभर्सन बगेसँगै असोज १८ देखि यातायात र ढुवानी सेवा ठप्प थियो । यसैबीच गाउँपालिकाले स्कावेटर परिचालन गरेर पुनः डाइभर्सन गरी बाटो खुलाएको हो।
मुवा खोलामा बाटो अवरुद्ध हुँदा फालेलुङ-५ प्राङवुङका नागरिक मेमेङ, एकतिन जोर पोखरी हुँदै फिदिम आउन वाध्य थिए भने खाद्यान्न र दैनिक उपभोग्य बस्तु ढुवानीमा कठिनाइ भएको थियो ।
