राज्यकोषबाट सेवा सुविधा लिनेले नैतिक रूपमा पारदर्शी हुन आवश्यक भएकाले सम्पत्ति विवरण सार्वजनिक गर्न पत्राचार गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकामा निर्वाचित वर्तमान तथा निवर्तमान जनप्रतिनिधिलगायतलाई सम्पत्ति विवरण बुझाउन पत्राचार गरेको छ । असोज २८ गतेको नगरकार्यपालिकाको बैठकले सबै जनप्रतिनिधि, सल्लाहकार, सविचालय तथा कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपछि पत्राचार गरेको हो ।
राज्यकोषबाट सेवा सुविधा लिनेले नैतिक रूपमा पारदर्शी हुन आवश्यक भएकाले वर्तमान तथा पूर्वकार्यपालिका सदस्य, सल्लाहकार, सविचालय तथा कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपछिको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएकाले पत्रचार गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
आफूलगायत उपप्रमुख, सबै कार्यपालिका सदस्य, निवर्तमान कार्यपालिका सदस्य, सल्लाहकार, सचिवालय तथा कर्मचारीको समेत सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपछि सबैलाई पत्राचार गरिएको नगरपालिकाका प्रमुख भट्टराईले बताए । निवर्तमान नगर प्रमुख दीपनारायण रिजाल, उपपप्रमुख विणादेवी राई लगायत अघिल्लो कार्यकालका सबै कार्यपालिका सदस्यलाई पत्राचार गरिएको भट्टराईले सुनाए ।
नगरकार्यपालिकाको बैठकलगत्तै नगरपालिकामा निर्वाचित सबैको सम्पत्ति सार्वजनिक गर्ने, नगरपालिका गठन भएपछि विनियोजित बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने लगायतका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
‘राज्यकोषबाट सेवा सुविधा लिएपछि नैतिक रूपमा पारदर्शी हुनु पर्छ, त्यही भएर वर्तमान तथा निवर्तमान निर्वाचित जनप्रतिनिधि, सल्लाहकार, सचिवालय तथा कर्मचारीलाई सम्पत्ति सार्वजनिक गर्न पत्राचार गरिएको छ’ भट्टराईले भने, ‘यसका साथै अघिल्लो कार्यकालदेखि नै नगरपालिकाबाट विनियोजित बजेट तथा कार्यक्रमसमेत विस्तृतमा सार्वजनिक गरिनेछ ।’
