असोज २६ गते राति १० बजे घरबाटै हराएका लामा शुक्रबार दिउँसो मृत फेला परेका हुन् ।
खोटाङ — ६ दिनअघि हराएका बाराहापोखरी गाउँपालिका–३ सिन्ताङका ७९ वर्षीय प्रेम दोर्जे लामा मृत फेला परेका छन् । असोज २६ गते राति १० बजे घरबाटै हराएका लामा शुक्रबार दिउँसो मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार दिउँसो २ बजेर ५५ मिनटमा घरभन्दा करिब दुई किलोमिटर दक्षिणमा रहेको राप्चे खोला नजिक, घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । ‘मृतकका छोरा मनकुमार तामाङले जानकारी गराउनासाथ हुक्नाजोरस्थित प्रहरी चौकीबाट प्रहरी हवल्दार धीरेन्द्र कैवारको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएको छ,’ मिश्रले भने, ‘कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि बाराहपोखरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बब्लेसकुमार यादव र इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी निरीक्षक मोहनकुमार बोहोराको टोली घटनास्थलतर्फ खटिएका छन् ।’
