दिउँसो कृष्ण खोलामा माछा मार्न गएका बालिकाहरूमध्ये तीन जनाको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा — झापाको गौरदह नगरपालिका–९ खजुरबारीमा शुक्रबार दिउँसो पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिब १ बजेतिर कृष्ण खोलामा माछा मार्न गएका बालिकाहरूमध्ये तीन जनाको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा अन्जु मगरकी छोरी ९ वर्षीया स्वीकृति मगर, ७ वर्षीया सुष्मा मगर र रोमन (मोते) परियारकी ११ वर्षीया छोरी रोशनी परियार रहेका छन् ।
साथै, उनीहरूसँगै गएकी राजकुमार राईकी १० वर्षीया छोरी युनिसा राई भने ज्यान जोगाउन सफल भएकी थिइन् । उनले घटना देख्नेबित्तिकै अभिभावकलाई जानकारी गराएकी थिइन् ।
अभिभावक र स्थानीयले तत्कालै तीनै जनालाई पानीबाट बाहिर निकाले पनि तीनै जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ ।
घटनाबारे जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी बैगुनधुरा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
