मेची राजमार्ग : ११ औं दिनमा खुलाइयो वैकल्पिक बाटो

राजमार्ग अवरुद्ध भएको ११ औं दिन जोगमाई खोलामा डाइभर्सन गरिएसँगै १२ किलोमिटर दूरीको उक्त सडक सञ्चालनमा ल्याइएको हो ।

आश्विन २९, २०८२

लक्ष्मी गौतम

Mechi Highway: Alternate route opened on 11th day

पाँचथर — मेची राजमार्गको इलाम खण्डअन्तर्गत पर्ने राजदुवाली खण्ड सञ्चालन गर्न थप कठिनाइ भइरहेका बखत वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ ।

राजमार्ग अवरुद्ध भएको ११ औं दिन जोगमाई खोलामा डाइभर्सन गरिएसँगै १२ किलोमिटर दूरीको उक्त सडक सञ्चालनमा ल्याइएको हो ।

सडक डिभिजन इलामले राजदुवालीको विकल्पमा सिमल गोलाईदेखि मोडिएर तिल्केनी निस्कने गरी सडक खुलाएको हो ।

जोगमाई खोलामा १४ वटा हृयुम पाइप र केही क्यानल पिसबाट पानी कटाएर वैकल्पिक सडक खुलाइएको हो । सडक खुलाउन सडक डिभिजनले पाँचथरबाट हृयुम पाइप लगेको थियो । यो सडक खुलाउन सडक डिभिजन कार्यालय सँगै सरोकारवालाले रातारात काम गरेका थिए । जोगमाई खोलाको डाइभर्सन गर्ने काम सकिएसँगै ताप्लेजुङ, पाँचथर र इलामतर्फबाट झापातर्फ झर्दै गरेका अनि झापातर्फबाट इलाम पाँचथर हुँदै ताप्लेजुङतर्फ जाने क्रममा बीच बाटोमा अड्केका सवारी साधन आआफ्ना गन्तव्यतर्फ लागेका छन् ।

यो मार्गमा साना सवारी साधन सहजै पार गर्न सक्ने बताइएको छ । वैकल्पिक सडकबाट गह्रंगा र मालवाहक साधन चलाउन मिल्ने/नमिल्ने भन्ने खुलाइएको छैन ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully