अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार अर्थ मन्त्रालयको असोज ५ को निर्णयले प्राप्त पत्रको आधारमा उक्त निर्णय गरिएको हो ।

आश्विन २८, २०८२

डम्बरसिं राई

Decision to lay off temporary, contract and daily wage employees

What you should know

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दरबन्दीबाहेकका अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयको पत्रको आधारमा मंगलबारको कार्यपालिका बैठकले दरबन्दीविहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार अर्थ मन्त्रालयको असोज ५ को निर्णयले प्राप्त पत्रको आधारमा उक्त निर्णय गरिएको हो । आगामी कात्तिक १ देखि लागू हुने गरी दरबन्दीविहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय गरिएको मंगलबार पत्रकार सम्मेलन गरी नगरप्रमुख भट्टराईले जानकारी गराएका हुन् । यस्ता कर्मचारी कति छन् भन्ने यकिन भने हुन बाँकी रहेको भट्टराईको भनाइ छ । ‘अर्थ मन्त्रालयको पत्रको आधारमा आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी दरबन्दी बाहेकका अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरिएको हो,’भट्टराईले भने ।

त्यस्तै नगरसभा तथा नगरकार्यपालिका बैठक, कार्यक्रमहरूमा खाजा, खाना तथा विविध शीर्षकमा खर्च नगर्ने, स्थानीय तहको सुरुवातीदेखि नगरपालिकाबाट विनियोजित योजनाहरूको विवरण समेत सार्वजनिक गर्ने निर्णय भएको छ । कतिपय योजनाहरू कामै नगरी फर्छ्यौट भएको, कतिपयमा डुब्लिकेसन भएको लगायतका गुनासो आएपछि स्थानीय तहको सुरुवातीदेखि नै नगरपालिकाबाट विनियोजित बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरिएको भट्टराईले बताएका छन् । 

त्यसैगरी आगामी कात्तिक २० गतेभित्र नगर कार्यपालिका सदस्यहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरिएको भट्टराईले सुनाएका छन् । यसबाहेक दिक्तेल बजारमा मापदण्डविपरीत बनाइएका स्पिट ब्रेकरको स्तरोन्नति गर्ने, निर्माणाधीन अवस्थामा अलपत्र परेको जिल्ला अस्पतालबारे सम्वन्धित सरोकारवालाहरूसँग छलफल गरी कानुनी परामर्श लिई आवश्यक परे कानुनी प्रक्रिया बढाउने लगायतका निर्णय गरिएको भट्टराईले बताएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully